0 COMMENTS

जनकपुरधाम, २९ साउन । विगत दुई सातादेखि जनकपुर बजारमा प्याजको माग ३० प्रतिशतले बढेपछि उपभोक्ता मारमा परेका छन् ।

धनुषामा किसानले प्याजको व्यावसायिक खेती गर्न छाडेपछि स्थानीय बजारमा भारतीय प्याजको माग बढेका कारण यसको मूल्य बढेको हो । भारतमा समेत प्याजको मूल्य दिनप्रतिदिन बढिरहेका कारणले यसको प्रभाव जनकपुर बजारमा समेत परेको हो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार आव २०७१÷७२ मा यहाँका किसानले ९२३ हेक्टर क्षेत्रफलमा प्याजखेती गरी ११ हजार २२० मेट्रिक टन उत्पादन गरेका थिए । प्याजखेती गर्ने किसानलाई प्रोत्साहन गर्नलाई सरकारले ल्याएको प्याज मिसन कार्यक्रम धनुषामा असफल भएपछि सरकारले दुई वर्षअघि उक्त कार्यक्रम बन्द गरेको थियो ।

किसानले प्याजको निर्वाहमुखी खेती गर्दै आएकाले अभाव भएको प्राविधिक सहायक अमृतलाल कर्णले बताउनुभयो । अहिले जिल्लामा २० प्रतिशत किसानले मात्र प्याजको खेती गर्ने गरेका छन् । आव २०७१/७२ मा महोत्तरीको भिट्ठामोर नाकाबाट रु २४ करोड ७५ लाख ६० हजार ६४० मूल्य बराबरको चार हजार ९१८ मेट्रिक टन प्याज भारतबाट आयात गरिएको थियो ।

जनकपुरको मुख्य बजारका रुपमा रहेको पेठिया बजारमा रहेका व्यापारीले महिनामा एक करोड मूल्य बराबरको भारतीय प्याज बिक्री गर्दै आएको जनकपुर आलुप्याज व्यवसायी सङ्घका अध्यक्ष मोहम्द अलाउदिन राइनले बताए । करिब १५ वटा थोक तथा ५० भन्दा बढी साना व्यापारी रहेको पेठिया बजारमा अहिले थोक ६० रुपैयाँ प्रतिकिलो तथा खुद्रा ७५ रुपैयाँ प्रतिकिलोमा भारतीय प्याज बिक्री भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।