0 COMMENTS

काठमाडौ, साउन । सामाजिक सञ्जालमा गोली हानी हत्या भयो भन्ने दाबी गरिएका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक सदस्य विष्णु क्षेत्री र उनका दाजुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सजस्ता आर्थिक गतिविधि सञ्चालन गरी आम सर्वसाधारणको अर्बौं रुपैयाँ ठगी गरेको भन्दै सरकारले करिब ४ वर्षअघि युनिटीका सञ्चालकहरुलाई कारवाही शुरु गरेको थियो । आफूहरुमाथि कारवाही शुरु भएपछि क्षेत्री दाजूभाई फरार थिए ।

uniteमहानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा शुक्रबार साँझ सवा ५ बजे भएको पत्रकार सम्मलेनमा नेपाल प्रहरीका डिआइजी विज्ञानराज शर्माले भने– ‘सनसनीपूर्ण अपराधसँग गाँसिएको मुद्दाका अभियुक्त पक्राउ गरेका छौ।’ उनले पहिले नै तयार पारिएको स्लाइड पढेर सुनाए । साढे ३ लाखभन्दा बढी नेपाली लाई ठगेका युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक क्षेत्री दाजुभाइलाई प्रहरीले सार्वजनिक गरेको हो । महेन्द्रनगरको गड्डाचौकी आसपासबाट पक्राउ गरिएको भनिए पनि प्रहरी उच्चस्रोतले दिएको जानकारी अनुसार रेड कर्नर नोटिस जारी भएका क्षेत्री दाजुभाइलाई भारतको राजधानी दिल्ली आसपासबाट पक्राउ गरिएको हो ।

दुई दिन लगाएर उनीहरुलाई गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको हो । गड्डाचौकीबाट धनगढीसम्म गाडीमा आएका उनीहरुलाई धनगढीबाट जहाजमा काठमाडौं ल्याइएको थियो ।  १ मिनेटजति पत्रकारसामु उभिँदा पनी यि दाजुभाइलाई असहज महसुस भएको देखिएन । दाजुभाइ सर्टपाइन्ट र कोटमा सजिएका थिए। अनुसन्धानको संयोजन गरिरहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने– ‘धेरै बयान र सोधपुछ नगरेकाले पनि उनीहरु फ्रेस देखिएका होलान्।

क्षेत्री दाजुभाइलाई जिल्ला अदालत ललितपुरले २०७० चैत १७ गते ३ वर्ष कैद जनही १ करोड छ लाख छब्बिस हजार २ सय ७६ रुपैयाँ बिगो तिराउने फैसला गरेको छ । सोही फैसलाका आधारमा उनीहरुलाई जिल्ला अदालत ललितपुरमा बुझाइने प्रहरीले जनाएको छ । नेटवर्किङ व्यवसायमार्फत् विभिन्न सामानको विक्री बितरण गर्ने युनिटी लाइफमा ३ लाख ६६ हजार ३ सय ४२ सदस्य बनेका थिए । एजेन्टको कुरा विश्वास गरेर कतिपय सदस्यले भए भरको सम्पत्ति युनिटीमा लगाएका थिए ।

उनीहरुलाई नयाँ सदस्य बनाएवापत् कमिसन र विभिन्न सामान दिने गरिन्थ्यो । जति धेरै सदस्य बनायो उति धेरे कमिसन र सामान पाइने लोभमा कतिपय परिवारका सबै सदस्य नै युनिटीका सदस्य बनेका थिए । यसरी मानिसहरुलाई छिटै धनी बनाउने सपना देखाएर युनिटी लाइफ इन्टरनेशनलले ३ अर्ब ७९ करोड ९८ लाख सत्तरी हजार भन्दाबढी रकम उठाएको थियो । तर युनिटीका सञ्चालकले निक्षेप संकलन गर्न राष्ट्र बैंक तथा डिभिजन सहकारी संस्थासँग स्वीकृति लिएका थिएनन् ।

युनिटी लगायत अन्य नेटवर्किङ कम्पनीले सर्वसाधारणलाई ठगेको कुरा आउन थालेपछि २०६७ जेठ ३ गतेदेखि युनिटीका प्रबन्ध निर्देशक र तालिम निर्देशक रहेका क्षेत्री दाजुभाइ फरार भएका थिए । २०६८ माघ २ गते क्षेत्री दाजुभाइको नाममा रेड कर्नर नोटिस जारी गरिएको थियो । त्यतिबेलादेखि नै प्रहरीले उनीहरुको खोजी तीव्र पारेको थियो । नेपाली सेनाको जागिर छोडेका दाइ कृष्णबहादुर र नेपाल प्रहरीको जागिर छोडेका विष्णु बहादुरले प्रहरी आँखा छलेर भारत र नेपाल पनि आउ जाउ गरिरहेको खुल्न आएको एसएसपी खनालले बताए ।

उनका अनुसार गत साता कृष्णबहादुरले आफ्ना दाजुको गोली हानी हत्या भएको भन्दै फेसबुकमा लाससहितको लामो स्टाटस लेखेका थिए । ‘प्रहरीलाई झुक्याउनमात्र नभई परिवारिक विवादका कारण पनि कृष्णले यस्तो गरेको देखिन्छ’, खनालले भने ‘परिवारमा पनि उनीहरुको विवाद देखियो।’ कारण जेसुकै भएपनि प्रहरीलाई विष्णुबहादुरको हत्या कसले किन गर्यो भन्ने अर्को थाहा पाउनु पर्ने दबाब पर्यो । मोस्ट वान्डेड सूचीमा रहेका उनीहरुलाई पक्रेर ठगिएका नेपालीलाई राहत दिनु त छँदै थियो ।

‘हत्यारा पत्ता लगाउनुको साटो लास भनिएको मान्छे नै जिउँदै ल्याइदियौं’, खनालले भने । क्षेत्री दाजुभाइका नाममा बैंक खातामा रहेको सम्पत्तिबाहेक इलाम, धरान, हेटौंडा समेत धेरै ठाउँमा जग्गा रहेको पनि प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । अब उनीहरुलाई ललितपुर जिल्ला अदालतमा उपस्थित गराएपछि युनिटीपीडितको रकम कसरी फिर्ता गर्ने भन्नेबारेका टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।