0 COMMENTS

नयाँ संविधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने भन्दै आन्दोलनरत हिन्दुवादी र प्रहरीबिच आज पटकपटक झडप हुदा दिनभर इटहरी तनावग्रस्त भएको छ । झडपमा ३७ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते भएका छन् ।

प्रहरीले अवस्था नियन्त्रणमा लिन नौ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो भने आन्दोलनका संयोजक सन्त श्रीनिवास आचार्य र वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीतीका पूर्वाञ्चल संयोजक राजेन्द्र पोखरेल सहित १२ जनालाई नियन्त्रणमा लिएको छ ।

झडपमा राप्रपा नेपालका इटहरी अध्यक्ष रामु पोखरेल, वैदिक सनातन हिन्दु राष्ट्र नेपाल संयुक्त संघर्ष समीतीका पूर्वाञ्चल संयोजक राजेन्द्र पोखरेल, नारायणप्रसाद पोखरेल, कौशिला दाहाल, दुर्गा कोइराला, कुमार कार्की, नारायण पोखरेल लगायत ३७ जना घाइते भएका हुन् । यस्तै प्रहरीतर्फ प्रहरी सहायक निरिक्षक टिकादेवी श्रेष्ठ, प्रहरी हबलदार अशोक चौधरी, प्रहरी जवानहरु फूलमाया शेर्पा, कमला बस्नेत, सगुन राई, ब्रह्मदेव पासवान सहित १३ जना घाइते भएका हुन् । घाइतेहरुको इटहरीको सामूदायीक अस्पताल सहित स्थानिय अस्पताल र बिराटनगर तथा धरानमा उपचार भइरहेको छ ।

प्रहरीले सन्त श्रीनिवास आचार्य, संघर्ष समीतीका पूर्वाञ्चल संयोजक पोखरेल, प्रदर्शनकारीहरु घनश्याम आचार्य, कृष्ण गिरि, वासुदेव भट्टराई, संगिता कार्की, सावित्रा तिम्सीना, सविता कोइराला, गंगामाया भट्टराई, विदुर नेपाल, महेश लक्ष्मी साह र केशव न्यौपानेलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका समेत केहि घाइते छन् ।

प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र सनुसरीका प्रहरी प्रमुख सञ्जय शर्माको उपस्थितिमा आज बिहान इलाका प्रहरी कार्यालय इटहरीमा संघर्ष समीतीबिच शान्तिपूर्ण प्रदर्शन गर्ने र नेपाल झण्डाको दुरुपयोग नगर्ने सहमती भएपनि प्रहरीले आन्दोलनको नेतृत्व गर्दै आएका सन्त श्रीनिवास आचार्यलाई सहमती भएको केहि समयपछि नै नियन्त्रणमा लिएपछि हिन्दुवादीहरु आक्रोशित भएका हुन् । आक्रोसित हिन्दुवादीहरुले श्रीनिवासलाई छोड्नुपर्ने भन्दै इटहरी पश्चिम लाइन स्थित खेती खोला छेउबाट प्रहरी विरुद्ध प्रदर्शन सुरु गरेका थिए । उनीहरुले प्रहरी विरुद्ध ढुंगामुढा गरेका थिए । लगत्तै प्रहरीले पनि अन्धाधुन्ध लाठि प्रहार गरेको थियो भने निर्ममतापूर्वक प्रदर्शनकारीहरुलाई लाछारपछार र टाउकोमा समेत प्रहार गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्माले प्रदर्शनकारीहरुले प्रहरी कार्यालय र प्रहरीको गाडिमा ढुंगामुढा गरेपछि धरपकडको अवस्था सिर्जना भएको भन्दै घटनालाई सबैले शान्तिपूर्ण रुपमा लैजानुपर्ने बताउनुभयो ।
आन्दोलनका संयोजक श्रीनिवास आचार्यले पनि आफूले शान्तिपूर्ण रुपमा आन्दोलन लैजान चाहेको भएपनि प्रहरीले बल प्रयोग गरेको बताउनुभयो ।

यस्तै संघर्ष समीतीका पूर्वाञ्चल संयोजक पोखरेलले आफूहरुलाई सुरु नै नियन्त्रणमा लिएकाले आफूहरुले घटना नियन्त्रण गर्न नसकेको बताउनुभयो । उहाले आफूलाई समेत प्रदर्शनकारीहरुकै ढुंगाले लागेको बताउनुभयो । पोखरेलले घटना शान्तिपूर्ण बनाएर लैजान सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शनकारीहरुले चार दिन यता दिनहु इटहरीमा र्याली र चक्काजाम लगायतका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले भोली पनि पूर्वाञ्चल बन्दको आह्वान गरेका छन् । तर अब भने आन्दोलनलाई हिंसात्मक बनाउन नहुने भन्दै प्रहरी र प्रदर्शनकारी दुवैले संयमित हुनुपर्नेमा दुवै पक्षले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।