काठमाडौं, १७ फागुन/ काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा आयोजित लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार एक समारोहबीच शुभारम्भ भएको छ ।
गृहमन्त्री लेखकले पानसमा दीप प्रज्जवलन गरी शुभारम्भ गर्नुभएको सो समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विभिन्न महत्वपूर्ण व्यक्तित्वहरू, युवा, विद्यार्थीहरू, चलचित्र, कला, संगीतक्षेत्रका विशिष्ट व्यक्तिहरूले एउटै संयन्त्र बोध गरी शुभारम्भ भएको यस महाअभियान अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । लागूऔषध दुर्व्यवसनले दुर्व्यवसनकर्ता व्यक्तिलाई मात्र नभई समग्र परिवार र समाजलाई नै खोक्रो पारी विभिन्न अपराधहरूमा समेत वृद्धि भइरहेकोले यसको न्यूनिकरण र नियन्त्रणमा नागरिकसँग प्रत्यक्ष पहुचका साथै नागरिकको नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले थप पहल कदमी लिनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य प्रस्तुत गर्नुहुदै लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थामा समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै संयन्त्ररुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी एउटै सयन्त्रको रुपमा सवल र शसक्त अभियानको औचित्यका रुपमा यस महाअभियान शुभारम्भ गरिएको बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको प्रमुख सामाजिक समस्याको रूपमा रहेको उल्लेख गर्दै नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय वर्तमान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै विश्वव्यापी रूपमै जटिल समस्याको रूपमा देखा परेको लागूऔषधको उत्पादन, ओसारपसार, बिक्री वितरण एवम् सेवनको असर र प्रभाव हाल नेपालमा समेत बढ्दै गईरहेकोले यसको न्यूनिकरण, रोकथाम समेत संवेदनशील विषयको रूपमा देखापर्दै आएको बताउनुभयो । निश्चित व्यक्ति, परिवार र समाज मात्र नभई समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा समयमै एकजुट हुन नसकेको खण्डमा उत्पादनशील तथा सिर्जनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि वृद्धि हुन जाने हुँदा यसको विरूद्धको सामुहिक एक्यवद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल र ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पाहरूबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी प्रतिवद्वतापत्र आदान प्रदान समेत भएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., वरिष्ठ कलाकार सरोज खनाल, सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, ने.वि.सं. केन्द्रीय सभापति दुजाङ शेर्पा, अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल, पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित लगायतले आ-आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट गिती नाटक सम्बन्धी भिडियो समेत प्रस्तुत गरिएको थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल स्काउटका प्रमुख आयुक्त, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, नागरिक समाज, संचारकर्मीहरू, कलाकारहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् आमन्त्रित महानुभावहरूको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्