0 COMMENTS

  प्रतिभा भट्टराई/सपिङ जाने र नयाँ मुभी हेर्ने सल्लाह अनुसार आ आफ्नो घरको बिहानिको काम हतार हतार सकाएर हामी ५ जना साथीहरू एकै ठाउँमा भेला भयौँ। सबै साथीहरुले वन पिस ड्रेस किन्ने र कुनै कार्यक्रममा सँगै लगाउने हाम्रो प्लान थियो। नयाँ पहिरन र शृंगारमा सबै साथीहरु आकर्षक र हर्षित देखिन्थे ।म मा पनि हर्ष र उल्लासको कुनै कमी थिएन।
भेला हुने क्रममा ढिलो आउने साथीहरुले ढिलो हुनुको कारण खुलाउँदै र एक अर्काले सबैको सुन्दरताको बर्णन गर्दै त्यसदिन हामिले रमाइलो यात्रा सुरु गरेका थियौँ।
सपिङ गर्दै जाने क्रममा चिर परिचित साडी सप बाटैमा पर्यो। पसलमा बस्ने बहिनी पनि चिनजानकै भएकीले साथीहरु सबैलाई लिएर म पसल भित्र गएँ ।कुराकानी गर्दै जाने क्रममा सिसामा सजाइएको पहेँलो भुइँमा रातो गुलाबी बुट्टा भएकाे अत्यन्तै मीठो कलर को साडीमा मेरो आँखा अडियो। मैले ती बहिनीसँग साडीको प्राइस सोधें, उनले हतार हतार जवाफ दिइन,यो साडी त दादाले अस्ति भर्खर लगिसेको छ त भाउजु हजुरको लागि ,हजुरलाई दिसेको छैन ?सायद सरप्राइज होला तीजको।

ती बहिनी ले निकै खुसी हुँदै मलाई सुनाएकी खुसीको खबरले मेरो मन भने खुसी नभएर दुःखी पो हुन पुग्यो। “हजुरको लागि “भनेर चाहिँ किन भन्नु परेको होला ? जस्तो लाग्यो तर त्यति राम्राे कुरा सुनाउँदा पनि मेरो मन जल्छ भन्ने त ती बहिनीलाई पनि कसरी थाहा होस् ? उनको भनाइ सुन्ने बित्तिकै फेरिमेरा साथीहरुले पनि थपिदिए ,ओहो ! माया होस् त यस्तो ,तीज आउनै लाग्दा सरप्राइज दिन भनेर साडी पनि किनिसकेछन् है ,कसैका प्रियतम ले। आफ्ना लाई त यस्ता कुराहरू याद हुने भए पो। ती मेरा नजिकका मित्र हरू लाई पनि के थाहा? उनीहरूको जिस्काई ले मेरो मन अझै तड्पिन्छ भनेर। आजसम्म आफ्ना साथीभाइ र इष्टमित्रहरूलाई थाहा नदिइकन लुकाएको आफ्नो पीडा कतै छरपष्ट हुने पाे हो की भनेर डर थियो मलाई त्यसैले गाँठो परेर दुःखेको मन् लाई पनि खिस्स हाँसेर साथि हरु र ती बहिनीलाई मैले भ्रम मा त पारेँ तर यी र यस्ता मन् दुखाउने खबर म बेलाबेलामा देखिरहन्थें , सुनिरहन्थें र भोगिरन्थेँ। कती जनाको आँखामा छारो हाल्नु र कती पटक नक्कली हाँसो देखाउँदै आफूलाई सम्हाल्नु?
हो म फेरि आज पनि नराम्रो सँग अनायास टुट्न पुगें। झसङ्ग भएँ र चिसो हुँदै हर्षित भएकाे मन एकैछिनमा छटपट हुन थाल्यो। सर्र आँखाबाट थाहै नपाई आएकाे आँसुलाई मैले व्यवस्थापन गर्न सकिन र रेस्ट रूम जाने बहानामा त्यहाँको माहोलबाट बाहिरीए । कसैले नदेख्ने गरी टाढिए पनि त्यहाँ भित्रका कुराहरू मैले सुनिरहेकै थिएँ। साथीहरू भन्दै थिए। साँच्चै ! कस्तो मिठो कलरको साडी है यो? कति जानेका है यीनका श्रीमानले कलर छान्न पनि ?छक्क परें म त ,हामी पनि किन्ने हो कि के हो? तीजमा सबैले एउटै साडी लगाउन?उनीहरूका कुरासँगै मेरा आँखाहरू भने अविरल बगिरहेका थिए। मैले आफ्ना आँसुहरूलाई थाम्न सकेको थिइनँ। आफ्नो मनको व्यथा र चोटका साथै साथीहरुले आफ्नो पिर थाहा पाउने पो हुन् कि र आफ्ना श्रीमानलाई उनीहरुले गर्ने श्रद्धामा कमी हुने पो हो कि भन्ने कुराले पनि मलाई चिन्ता थपिएको थियो।

यो मेरो लागि कुनै नौलो विषय चाहिँ थिएन। साडी त अझै कम मूल्यको रहेछ। यी र यस्ता अन्य महंगा उपहारहरु उसले धेरै आफ्नी साथीलाई दिइसकेको थियो। आफूले प्रयोग गर्ने सामान दराजमा र उसको कोटको खल्तीमा भेटाउँदा आफ्नै लागी ल्याइदिएको हो की भनेर केही समय खुसी लाग्ने भएको भए पनि कुनै दिन आफूले नपाएपछि म धेरै दिन विचलित हुन्थे। आँसु झार्थें छटपटिन्थें र बिस्तारै आफूलाई सम्हाल्थें। जब सम्हालिन्थें फेरि यस्तै घटना र खबर सुन्थें। अनी फेरि छटपटीमै बित्थे मेरा दिनहरु, यो मेरो जीवनी भइसकेको थियो।
केही वर्ष अगाडि आफ्नो जन्मदिन आउनै लाग्दा उसको कोटको खल्तीमा भेटिएको सुन्दर डायमण्ड रिङ देखेर म निकै खुसी भएकी थिएँ। तर जन्मदिन बितेको वर्ष दिन सम्म पनि नपाएपछि मैले त्यसलाई बिर्सिसकेको रहेछु। एकदिन घरमा नन्द मैयाको विवाहको उत्सब हुँदा उसले साथी भनेर परिचय गराएकी महिलाले लगाएर आएको देखेपछि भने म नराम्रोसँग तर्सिएकी थिएँ। त्यसै बेला देखि तर्सिने र सम्हालिनु पर्ने परिस्थितिले छोडेको थिएन मलाई।

केही महिनापछि फेरि आज पनि तर्सिनुपर्यो मलाई। त्यसदिन साथीहरुले खुब रमाए ,निक्कै सपिङ्ग गरे नयाँ र राम्रा लुगा हरू ट्राइ गर्दै फोटो पनि खिचे, खाजा खाए तर मलाई भने कुनै सामान किन्ने जाँगर चलेन, फोटो खिच्ने रहर जागेन अनी खाजामा कुनै स्वाद भेटिन।त्यै साडी आँखाको वरिपरि घुमिरह्यो र जसरी पनि किन्नु पर्ने सोच मस्तिष्क मा गडियो ।उनी हरु ले सिनेमाको पनि भरपुर मनोरञ्जन लिए । मैले भने मुभीमा भएको कथा भन्दा पनि विवाह हुनु भन्दा अगाडि काे उ र विवाह पश्चात परिबर्तन भएको उसका व्यवहार हरूका, एक पछि अर्काे घटना हरूका सम्झनामा ,सिनेमा सुरु भए पछि भएकाे अँध्यारोमा रोकेर राखेका आँसु र गुनासा हरूका गीत बगाउँदै आफ्नै जीवनको सिनेमा दिमागको पर्दामा उतार्दै सिनेमा की पात्र आफैं भएर समय बिताएँ।

अब त हतार भयो भन्दै ,छिटो छिटो घर पुग्न आतुर थिए मेरा साथी हरु ,मेरा पाइलाहरू भने अगाडिभन्दा पछाडि पछाडि धकेलिरहेका थिए । उसलाई मनपर्ने परिकार मेहेनत गरेर बनाई सँगै खाउँला भनेर कुरेर बस्ने म, तर मलाई केहि खबर नगरी बाहिरै खाएर आइ घरको खाना खेर फालिदिने उ ।उसलाई राम्रो देखाउने बहानामा जुत्ता लुगा धोई सरसामान ठिक पारिदिने म, उसका केटाकेटी र घर सम्हालिदिने म , चौबीसै घण्टा घरकै लागि खटेर काम गर्दा पनि उसकी आमा र दिदीबहिनीका घुर्कीहरु सुन्दै गाली खानु पर्ने जिम्मा चाहिँ मेरो अनी उसको माया र कमाई खाने अरू नै कोही ? महिनौं अफिस र साथीका नाममा घुमेर, घरका मान्छे हरू लाई पनि घुम्ने रहर लाग्ला भनेर कहिल्यै नबुझ्ने उ,ओहो ! चक्कर लागे जस्तै भयो मलाई आफ्नो खर्च आफैं धान्न सक्ने गरी सानो व्यवसाय गरेको भए पनि खान अनि लगाउन उसैले दिएको थियो। बस्ने घर उसैको, मायालु केटाकेटी उसैका अनी सिंदूर र थर उसैका जोडिएका थिए ,त्यसैले आँखामा त्यही साडी र दिमागमा साथीहरु लाई देखाउन का लागी भए पनि त्यो साडी तीजको दिन लगाउनै पर्ने जिद्धी मनमनै गर्दै ,भारी मन्, मुटु लिएर भए पनि मन् सम्हाल्ने कोशिश गर्दै म घरको मूल ढोका सम्म आइपुगें । माथी बाट छोराछोरी हरू झगडा गरिरहेका आवाज आइरहेको थियो। त्यो भन्दा ठूलो आवाजमा,” आमाले तह लगाउन जानेकी भए पो छोरा छोरीलाई “भन्ने सासु आमाको भनाइ पनि सुनें । गएर झन् ठूलो स्वरमा आफुले तह लगाएको छोरा पनि त म बर्षौं देखि भोग्दै छु भनिदिउँ कि जस्तो पनि लाग्यो तर फाइदा के मिल्छ र भन्ने सोच्दै एक दुई पटक लामो लामो श्वास लिएँ, घुटुक्क थुक निलें अनी आँखा भिजाउँदै उक्लिएर आफ्नो काम सम्हालें।

त्यो साडी नकिने सम्म मलाई सन्तोष मिलेको थिएन। भोलिपल्ट काम सकिने बित्तिकै पुगेँ त्यहीं साडी पसल र भनें मलाई याे साडी पनि चाहियो मेरी दिदीको लागि । ती बहिनीले हो र? मेरो मा त सब सकियो त दिदी भन्दै अरु तीन चार वटा पसल घुमेर भए पनि मलाई उपलब्ध गराइदिइन।

त्यो साडी हातमा परे पछि म ठूलै युद्ध जीते जस्तै गरी घर फर्किएँ। आफ्नो खुशी कस्तो कुरामा गएर अडिन पुग्यो भन्ने लागेर खिन्न पनि भएँ। मलाई त्यो साडी लगाएर आफ्नो श्रीमानको अगाडि उभिनु थियो भने मेरा साथी हरु लाई त्याे साडी मेरा श्रीमानले मेरै लागि किनेका थिए भनेर प्रमाणीत गर्नू थियो।
यती गरे पछि हुने के थियो? मलाई सरोकार थिएन। त्यसैले तीजको दिन बिहानै नुहाइधुवाइ सकेर त्यही साडीमा सजिएँ, मन्दिर गएँ , पूजा सकिए पछि बिभिन्न पोजमा फोटो खिचाएँ र आफूलाई राम्रो लागेका अनी देखिएका फोटोहरु फेसबुकमा पोस्ट गरिदिएँ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।