0 COMMENTS

प्रतिभा भट्टराई/कलेजकाे त्यो पहिलाे दिन संयोगबस भेट भएको र परिचय सँगै साथी भएको प्रथम व्यक्ति थियो उ (सरोज)। गाउँबाट भर्खर काठमाडौँ पढ्न झरेकी लजालु केटी थिएँ म। कलेज यात्राको पहिलो दिन कता कता अप्ठ्यारो ,डर ,हिच्किचाहट सबै लिएर जाँदै थिएँ। मेरो कमजोर मनस्थितिमा साहस दिन भेटिएको पहिलो व्यक्ति थियो उ। उसैले मलाई कलेजका सबै कक्षा कोठाहरू देखाउने,टिचरहरूसँग परिचय गराउने ,प्रशासनिक काममा सघाउने अनि नयाँ साथीहरूसँग भेट गराउने काम गरिदिएको थियो। उसको आफ्नै काका कलेजकाे प्रिन्सिपल रहनु भएका हुनाले ऊ कलेजसँग पहिलादेखि नै परिचित रहेछ।

दिन दिनैको भेट ले ऊ सँगको मित्रता बिस्तारै बिस्तारै बढ्दै गए सँगै मलाई काठमाडौँका सबै गल्ली ,बजार र पार्कहरु घुमाउने यहाँकाे बोलचाल , रहनसहन सिकाउने अनि नयाँ नयाँ सिनेमा आउने बित्तिकै देखाउने व्यक्ति पनि उ नै भयो। फेसबुकमा पहिला फ्रेन्ड रिक्वेस्ट पठाउने पनि उ, भाइबरमा फोन गर्न सिकाउने पनि उ। फोटो पठाउन whatsapp मा राम्रो हुन्छ भन्दै चलाउन सिकाउने पनि उ।गाउँको घर गएको बेलामा वाइफाइ राम्राे नचलेर कुरा गर्न नपाउँदा न्यास्रो लाग्याे भन्दै मेरो मोबाइल नम्बर माग्ने र आफ्नो दिने पनि उ।
उ भन्ने म मान्ने ,उ अराउने म गर्ने यसरी बढ्दै गएको मित्रताले घरका सामान्य कामहरूमा पनि उसैको साथ चाहने भइसकेको रहेछ। सँगसँगै बजार जाने क्रममा कुनै राम्रा लागेका चिजहरु म लगाउँथे र देखाउँथे, जब उसले मलाई सुहाउँदो रहेछ भन्थ्यो ,म हत्तपत्त तिम्रो विवाहमा म यही लगाउने हो भनेर उसलाई जिस्काउँथे। उ सिरियस भएर सुनिरहन्थ्यो।

यसरी दिन, हप्ता महिना र वर्ष गर्दै चार वर्ष काे समय बित्दै गर्दा एकदिन कुरैकुरामा उसले मलाई घरमा आफ्नो विवाहको कुरा चल्न थालेको बतायो । सुरुमा त म दङ्ग पर्दै भनें हो र? मैले अस्ती किनेको लेहेङ्गा लगाउने दिन आयो? उ छक्क पर्दै मलाई हेरेर टोलाइरहेको रहेछ ,तब भने म झस्कन पुगेछु र सोच्न पुगेछु, ओहो ! साँच्चै उसको विवाह भयो भने मलाई अझै धेरै कुरा सिकाउने को? अह्राउने को ? घुमाउने को ? मसँग बोल्ने को ? अनि मसँग हिँड्ने को ? ओहो ! म झसङ्ग भएँ, डराएँ र चिसो भएँ , अचम्म लाग्यो कीन यस्ताे भएँ ?

निक्कै हिम्मत जुटाएँ र उसलाई सोधें साँच्चै हो तिम्रो घरमा विवाह को कुरा चलेको? उसले टाउको मात्रै हल्लायो केहि बोलेन। मैले पनि फेरि दोहोर्याएर उसलाई सोध्न सकिन । तर यो पटक उसले जान्न मात्र चाहेको रहेछ उसको विवाह को कुरा सुनेर मेरो अनुहारकाे रङ कस्ताे हुँदोरहेछ ,अनि म उसँग टाढा हुन चाहन्छु या चाहन्न भनेर। उ बुझ्न चाहँदो रहेछ हामी मात्र साथी हौं ? वा जीवन साथी पनि बन्न सक्छौं? भनेर उसले मलाई सोध्यो, के साँच्चै तिमी मेरो विवाहको कुराले खुसी छौ? हामी साथी मात्रै हौ ? या जीवन साथी बन्न सक्छौ ? मैले अब भने केही नसोची भनिदिएँ, म तिम्री जीवन साथी बन्न चाहन्छु।

यो विषय मा मैले गहिरिएर सोचेको त केहि थिईन तर म तिम्रो विवाह को कुराले निक्कै तर्सिएँ साँच्चै तिम्रो बिहा अरु कसैसँग भयो भने म उपस्थीत हुन त के हेर्न र सुन्न पनि नसक्ने रहेछु।मेरो कुरा सुनेर ऊ निकै दङ्ग पर्यो र दुवैतर्फ घरमा कुरा गर्नुपर्ने सल्लाह दियो त्यसपछि भने हामी आ आफ्नो घर तीर लाग्यौं।उसको कुरालेबाटो भरी निकै खुसी भएँ म । आनन्द भयो मन ,तर त्यो खुसी केही बेर पछि फेरि डर मा परिणत भयो।ओहो ! घरमा कुरा राख्नु,घरका मान्छेहरूको मन् जितेर सहमति प्राप्त गर्न सक्नु उसकाे घर परिवारले पनि मलाई स्वीकार्नु,यो फेरि सानो कुरा कहाँ थियो र?

उ काठमाण्डौ काे पुरानो बासिन्दा नेवारी परिवारमा जन्मेको मान्छे अनि म बाहुनकी छोरी हजुरआमाको बाहुनकै छोरालाई खुट्टा धोएर नातिनीको विवाह गर्ने रहर ,आमा र बुबाको कर्तव्य निर्वाह गर्दै हुर्काएकी आमालाई हुने समाज र इष्टमित्रहरूले के भन्लान भन्ने कुराको डर सहीत आफ्नै जातको केटासँग छोरीको विवाह गरिदिने चाहना, मेरो बितिसक्नुभएको बुबाले छिमेकी दिदीले सानो जातको केटासँग विवाह गर्दा राख्नुभएको धारणा , त्यस्तै जेठी दिदीको आफूले कुरा मिलाइसकेको धनाड्य केटासँग बहिनीको विवाह गरिदिने योजना। सबैको इच्छा मारेर आफ्नो सौख पूरा गर्नुपर्ने चुनौती आइपरेको थियो ममाथि। तैपनि हिम्मत नहारीकन मन मनै खुसी हुँदै घर पुगें।

बिस्तारै बिस्तारै निक्कै दिनको मेहेनत पछि म आमा दिदी र हजुरआमाको गाली खाँदै रुँदै र आफन्तहरूलाई गुहार्दै आफ्नो रहर पुरा गर्न सफल चाँही भएँ । उसले कसरी मिलायो सोध्न भ्याएकी थिइन। केही दिनपछि उसैले उसकाे र हाम्राे परिवार बसेर कुरा गर्न बोलायो ।म आमा र दिदीलाई लिएर उसको परिवारसँग भेट्न गएँ। उसकी आमाले त मलाई देख्ने बित्तिकै अँगालो हालेर माया गरेकी थिइन्। दिदीहरू भने खै किन हो त्यति खुलेर बोलेका थिएनन्। मैले त्यति वास्ता गरिन र गहिरिएर सोच्न पनि चाहिन ।ऊ आफ्नै हो भन्ने थियो उसकी आमाले पनि आफूलाई मन् पराए पछि म ढुक्क थिएँ । दुवै पक्षमा राम्रै कुराकानी भएको थियो र टिका टालो गर्ने निर्णयमा पुगिएको थियो।
त्यहाँबाट घर फर्केपछि का दिनहरू भने निकै बेफुर्सदिला बन्दै गए कुरा छिन्ने समयमा उसलाई के दिने ?उसका परिवारलाई कसरी स्वागत गर्ने? कसरी आफू राम्री देखिने ?अनि को को बोलाउने लगायत थुप्रै कामहरुमा तल्लिन भइरहँदा पनि मैले बेलाबेलामा आफ्नो बुबाको अभिभावकत्वलाई सम्झिँदै आँसु झार्न र आफ्नो सुखद दाम्पत्य जीवनको काल्पनीक सुन्दर महल ठड्याउन पनि भ्याएकी थिएँ।

टिका टालो गर्ने भनेर तय गरिएको भन्दा दुई दिन अघि बिहानै उसको इनबक्स देखें, लेखिएको थियो, सधैंको ठाउँमा भेटौ ल ? रोमान्चित भयो मन, यो खबर मैले खुसी हुँदै आफ्नी दिदीलाई सुनाएँ। उनले एक्लै नजान र छोरीलाई साथी दिएर जान भनिन् मलाई कता कता रिस पनि उठ्यो। छोरी किन टाँसो लगाएको होला भन्ने लागेर पनि मैले केही बोलिन।
ऊ सधैँ भेटेको मान्छे भएपनि आज भेट्नुको मजा बेग्लै अनुभव गरेकी थिएँ । मनमा डर लाज र अप्ठ्यारो सबै एक साथ मिश्रित भएर आएका थिए। जे जे भएपनि धेरै मात्रामा मन खुसी नै थियो र म हतार हतार आफ्नो काम सकाएर उसले दिएको समयमा पुगिनेगरी घरबाट निस्किएँ। सधैँ मलाई कुरेर बस्ने उसले आज भने मलाई आधा घण्टा कुरायो। मलाई कुर्नुमा पनि बेग्लै आनन्द लागिरहेको थियो।

उ परबाट आउँदै गरेको देखें एकाएक उ प्रति सम्मानको भाव जागृत भइदियो। हातमा एक बोतल पानी लिएर निराश र थकित मन लिएर आउँदै गरेको उसको अनुहार ले मलाई विवाह को तनाव हाेला भन्ने मात्र बुझाएको थियो।
नजिकै आउने बित्तिकै उसले,न म आएको समय सोध्यो न मेरो खबर। मात्र यति भन्यो, हामी बीचका सबै कुराहरू अब बिर्सिदिनु ?,हाम्रो विवाह नहुने भयो। मैले घर व्यबहार मिलाउनै सकिन।

यति भन्ने बित्तिकै उसका आँखाबाट झरेका दुई थोपा आँसु मैले नदेखेकी होइन , कहिले काँही आफ्ना दुःख सुनाएर मैले आँसु झार्दा मलाई रुन वाहेक केही जानेको छौ र? भनेर जिस्काउने र सधैँ जसो आफ्ना घर, बानी रुची, परिवार, सञ्चो बिसञ्चो सबै सुनाएर मलाई हैरान पार्ने उ आज यत्तिमै सीमित भयो।
उसको भनाइ सकिने बित्तिकै मेरो मनमा गएको भुइँचालोले म लरखराएँ , चकराएँ ,आँखा धमीला हुँदै गए र म अर्ध चेत भएर थचक्क बसें,मैले उसँग सजाएको सपनाको मनमोहक महल नराम्रोसँग ढलाइदियो र मन थिलथिलो हुने गरी पछारिएँ । भत्कँदै गरेको महलको अन्य घटना हरूले पनि मलाइ थिचे र मेरो मन पुरै टुक्रा टुक्रा भएर भाँचियो। उसको हातमा भएको बोतलको पानी खोसेर घटघटी पिएँ मैले । थाहा नै भएन बोतलको पानी रित्ती सक्दा पनि म पिइरहेको रहेछु। पिएको बोतलकाे भन्दा धेरै पानी मेरा नयनहरु बाट झरिसकेका थिए। यी दृश्यहरू देखेर पनि नदेखे झैँ गर्दै ऊ आफ्नो बाटो लाग्यो। अर्ध चेतनामा पनि यति कुरा हरू चाहिँ याद गरेको थिएँ।

त्यसपछि कसरी घर पुगेँ र मेरो हालत देखेर क कस्लाई के के भयो भन्ने केही जानकारी नपाएकी म चार दिन पछि पानि पानि भनेर बर्बराउँदै उठेकी थिएँ रे। घट घटी तीर्खा मेटिने गरी पानि पिइसके पछि उस्ले भनेको अन्तिम वाक्य को याद गर्दै कारण बुझ्न मन् लाग्यो र आफ्नो मोबाइल खोलेर उसैको नं डायल गरें। फेस बुक, भाइबर, ह्वाट्सएप, टिक टक सबैमा उसैलाई खोजें तर उस्ले मलाइ सबै तीर ब्लक गरिसकेको रहेछ। लाजै नमानी डाँको छोडेर रोएँ र धेरै आँसु बगाएँ उस्का यादहरु बग्ने गरी। केही राहत भयो र उठेर कौसी तिर टहलिएँ। उ सँग काे बिछोड ले नै भन्दा पनि मलाई बिछोडिनु पर्ने कारण बुझ्न नपाएकोमा बढी तड्पाहट भएको थियो।

उ सँग घण्टौं गफ गरेर खुशी हुन सकिने मोबाइल अब छुन मन थिएन। उस्का कुरा सुनाएर दङ्ग पर्न नपाए पछि कसै सँग बोल्न मन् थिएन। खाना खायौ भनेर सोध्ने उ नभए पछि खाना मा रुची भएन। उसकाे गीत सुनेर टोलाउन र आफ्नो स्वर सुनाएर रमाउन नपाउने भए पछि सङ्गीत सुन्नमा पनि मन् गएन। बिबाहको तयारीमा जुटाएका सामानहरू दिदीले कतै जतन गरिदिएकी ले हेर्न परेको थिएन भने सपनामा उसैलाइ देखिने हो की भन्ने डरले निदाउने पनि चाहना भएन। चौबीस घण्टाको दिन चौबीस दिन जति लामो भएर बित्दै थियो। बाहिरी रुप मात्र देख्ने र मलाई धेरै माया गर्ने हरुले म मा थाेरै परिबर्तन देखेका भए पनि म भित्रको छटपटी, बेचैनी अनुत्तरीत प्रश्नहरूको काे द्धन्द उदासीपन , एकलो पन को अनुमान लगाउन सक्ने कोहि थिएन।

यति नै बेला मैले रुप, शिक्षा, धन, परिवार हुँदा हुँदै आत्म हत्याको बाटो रोजेका केही परिचित अनुहार हरुलाई सम्झेँ र यसरि टुट्न पुग्दा पो मान्छे हरूले यो बाटो खोज्दा रहेछन् की भन्ने शंका गर्न पुगेँ।
तर मैले चाहिँ बलवान मानिएको समयको विश्वासमा धैर्य गर्दै आफ्नो लागि आउने उचित समयको पर्खाइ लाई रोजें र सीसा झैँ टुक्रिएको मनको एउटा ठुलो टुक्रा लाइ हतियार बनाएर आत्मवल बढाउने लक्ष्य लिएँ।

अत्त्यासलाग्दा केही दिनहरू व्यतीत भइसके पछि मलाई दिदीले उसको घर लिएर गई। ऊ हरक्षण मेरो निगरानी गर्थी।बिहान योग अभ्यास गराउने, दिउँसो नयाँ साथीहरूसँग सम्पर्क गराउने घुमाउने राम्रा राम्रा पूस्तक हरू पढ्न दिने। मीठा परिकार हरू बनाउन लगाउने,बनाएर खुवाउने गर्दै उसले मलाई दिन सहज तरिकाले बिताउन सकिने बनाइ।

जसो तसो तीन महिना काे समय बिते पछि भने मैले आफु मा नयाँपनको अनुभब गरें र ठूलै मानसिक युद्ध जितेको महसुस पनी गरें।
त्यसपछि मैले उसलाई कुनै काम गर्ने इच्छा बताए सँगै उसैले मेरो यो चाहना पनि पूरा गरिदिइ। अब भने मेरो जीवनले गती लिएको आश गर्दै भूतको डर र भविष्य को चिन्ता नभई वर्तमानमा रमाउने कोशिश गर्न थालें।
समय आफ्नै गतिमा चल्दै थियो। एक दिन अफिस बाट फर्कँदै गर्दा विपरीत सीट मा बस्न पुगें मेरो अगाडि बस्ने मान्छे ले मलाई नियालिरहेको भान भएको थियो। केही समय पछि आँखा जुध्न पुगे उस्ले मुसुक्क हाँस्दै भन्यो, “मलाई चिनिनौ?”म सरोज काे मिल्ने साथी। हामी एउटै कलेज पढेको हो नी।
तिम्राे त सराेज सँग विवाह भएको होईन?
बेला न कुबेला सराेज लाई सम्झाउने मान्छे देखेर रीस उठेको भए पनि उ बाहेक उसकै र आफ्नै साथी पनि नचिन्ने गरी आफू सरोज सँग काे सामिप्यता मा हराएका दिन हरू सम्झेर खिन्न भएँ।

मैले उस्को प्रश्न को जवाफ दिन जरूरी ठानिन जवाफ नपाए पछि उसले पनि के बुझेर हो फेरि सोधेन । मात्र मेरो मोबाईल नं माग्यो। मन् नलागेरै पनि दिएँ र मेरो नं पाए पछि उ माइक्रो बाट ओर्लियो। म घर पुग्नै लाग्दा नयाँ नं बाट कल आयो, उठाएँ उसैको रहेछ। उसले बोल्न सुरु गर्यो, “म सराेज काे नजिकको साथी भएको कारण उसले मलाई सबै कुरा बताएको हुन्थ्यो हजूर सँग भेट्न जाँदा म पनि आएको हुन्थें म पर बसेर हजुरहरुको भेट र कुराकानी हेरीरहन्थे फर्के पछि उसले मलाई धेरै जसो कुरा हरू बताउँथ्यो उसैले गरेको हजुरको बर्णन का आधारमा म नजानिँदो तरिकाले हजूर प्रति आकर्षित भएछु बिना बोलचाल। जब मलाई सरोज ले बिबाह काे कुरा सुनायो म निक्कै छटपटीए र विवाह अगाडि नै बाबु आमाको स्याहार गर्ने निहुँ मा गाउँ तीर लागे । केहीअसाध्यै निरस र कष्टकर समय व्यतीत भए पछि फेरि यतै फर्किएँ।आज हजुरलाइ यो पहिरनमा देखेर र सरोज ले म सँग गरेका हजुरहरुको अप्ठ्यारा व्यबहार का कुरा सम्झेर विवाह रोकिएको हो की भन्ने शंका गर्दै हजुरको साथ को चाहना ब्यक्त गरें।”
यति भने पछि उसले केहि बोलेन मैले पनि फोन काटिदिए तर यो पुरुष, प्रेम र विवाह भन्ने शब्द सुन्नै नसकिने गरी भाँचिएको मेरो मनलाई , विवाहका लागि जोरजाम गरेका सामान हेर्दै रुँदै गर्ने मेरो आमाको व्यबहार ले समय समयमा घोच्ने गरिरहेकै थियो। उस्का लागी रहर गरेर आफू एक्लै बजार गएर किनिदिएका सामान हरुले समय समयमा झस्काउने गरिरहेकै थिए भने सबै कुरा बताउन आवश्यक नठानेर विवाह सरेको मात्र खबर पाएका आफन्त हरुले कहीले हो विवाह ? भनेर गर्ने प्रश्न हरुले बेला बखत तर्साउने पनि गरिरहेका थिए।

आज पनि मूल ढोका बाट छिर्दै गर्दा मेरै भाँडिएको विवाह को कुरा गर्दै कसैसँग रुँदै गरेकी मेरी आमा को विवशता देख्न पुगेँ, आँसु त आफ्ना पनि कसैले नदेख्ने गरी कती झरेका थिए कती।, आज पनि नचाहँदा नचाहँदै झन धेरै बगाउन पुगें,अधैर्य भएँ र केही नसोची आफैंले काटिदिएको नं मा फोन गरेर आफू मञ्जुर भएको बताइदिएँ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।