0 COMMENTS

काठमाडौँ, ९ माघ /महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण तथा जनचेतनामूलक कार्यक्रम’ शुभारम्भ गरिएको छ ।थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजका सहकार्यमा शनिबारदेखि सो अभियान सुरुभएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले पछिल्लो समय मुलुकमा बढ्दै गएको ओमिक्रोन भेरियन्टबाट आम नागरिकलाई जोगाउनका लागि उक्त अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले आम नागरिकलाई सङ्क्रमणबाट जोगाउनका लागि यसअघिदेखि नै मास्क वितरण अभियानलाई निरन्तरता दिइरहेको थियो । ”

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष योगीराज अधिकारीले सामाजिक दायित्वको भावले आम नागरिकलाई स्वास्थ्य बनाउनका लागि जेसिजले विभिन्न संस्थासँग सहकार्य गरेर अगाडि बढेको जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिक्देल, वडा नं ७ का वडाध्यक्ष शम्भुकुमार केसी, थानकोट जेसिज २०२२ का अध्यक्ष रोशन दानीलगायतले कोरोना महामारी नियन्त्रण, रोकथाम र जनचेनामूलक कार्यक्रमको पहिलो दायित्व स्थानीय सरकारको भएको बताउनुभएको थियो ।

सोही अवसरमा काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई एक हजार मास्क वितरण गरिएको थियो । अभियान थानकोट, नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।