प्रतिभा भट्टराई/ विष्णु भगवान लाई तुलसी पत्र अनि विघ्नहर्ता गणेश लाई दुबो जस्तै भोलेनाथ को पूजामा छुटाउनै नहुने चिज वेलपत्र हो । भाङ,धतुरो, सेता पहेला पुष्प, चन्दन, लगायत पञ्चामृत अर्पण गरीने देवाधिदेव महादेव लाई सके जति गंगा जल वा शुद्ध जल पनि चढाउनु शुभ मानिन्छ।
पुराणमा बर्णन गरिए अनुसार, एक समय यसै पवित्र श्रावण महिना मा देवता र दैत्यहरूले मिलेर समुन्द्र मन्थन गर्दा राम्रा र नराम्रा दुबै चिज हरु उत्पन्न भएको थियो। जस्मा अमृतको घडा लिएर माता लक्ष्मी प्रकट भएकी थिइन् भने विश्व ब्रम्हाण्ड नै ढाक्ने गरी कालकुट विष पनि पैदा भएको थियो। तर अमृत काे घडा लिन देवता र दानव आतुर थिए भने कालकुट विष देखेर सवै त्रसित भई भागाभाग गरेका थिए।
यसरी ब्रह्मा को सृष्टि नै डगमगाउने गरी विष फैलन थाले पछि विश्व कल्याणका लागि भगवान भोलेनाथले उक्त विष सेवन गरी आफ्नो कण्ठ मा धारण गर्दा निलकण्ठ को नामले पुकारिएका महादेव लाई सो विष को डाह शान्त पार्न देवता हरूले वेलपत्रद्वारा औषधि तयार गरी लगाइदिएका थिए।
यसै कारण हरेक दिन, विशेष पर्व र तिथीहरुमा भोलेनाथ लाइ अर्पण गरीने तिनपत्र सहितको वेलपत्र र शुद्ध जल श्रावण महिना भर अझै धेरै अर्पण गरीन्छ तर वेल पत्र भने टुटेको वा किराले खाएको , च्यातिएको हुनु हुँदैन भने ११,२१, ५१ वा १०८को सङ्ख्या पारेर चन्दन ले” ॐ नम: शिवाय” लेखीअर्पण गर्दा भोले बाबा प्रसन्न हुने बिश्वास गरिन्छ।