0 COMMENTS

काठमाण्डाै२९बैशाख०७८/  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिनुभयो । “कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक १०० सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ”, उहाँले भन्नुभयो ।

अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमासमेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ । ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा १०० भन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्रान्डी अस्पतालमा २०० भन्दा बढी श्ययामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।