काठमाडाैं ५ पुष २०७७, । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक’ बैठकले राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय गरेको प्रचण्डनिकट एक मन्त्रीले बताउनुभएकाे छ ।
‘केही मन्त्रीहरूले असहमति जनाउँदा जनाउँदै प्रधानमन्त्रीले एकलौटी ढंगले निर्णय बढाउनु भयो, प्रतिनिधि सभा विघटनको प्रस्ताव पठाउने निर्णय भएकै हो,’ ती मन्त्रीले भन्नुभयाे ।
तर, राष्ट्रपति कार्यालय शितल निवासले भने यसबारे कुनै जानकारी नआएको स्रोतले जनाएको छ ।यसअघि मन्त्रीहरुलाई जानकारी नै नदिई सरकारले मंगलवार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । उक्त प्रस्तावपछि नेकपाको विवादले नयाँ मोड लिएको थियो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएकाे नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता हुनुभएकाे थियाे ।
तर, प्रधानमन्त्री केपी ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयत्न जारी राख्नुभएकाे थियाे ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अल्पमतमा पर्नुभएकाे ओलीलाई एक पद छाड्न दबाब दिएपछि उहाँले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न प्रस्ताव गर्नुभएकाे थियाे ।