0 COMMENTS

काठमाडौं २५, मंसिर  २०७७ । करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती बढाउन देशभरका युनिटलाई परिपत्र गरेको छ  । ब्यारेक र कार्यालय तथा चन्द समूहका गतिविधिबारे सूचना र सुराकी दिनेको सुरक्षामा पनि सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।

चन्द समूहले मंगलबार मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिका–१, रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको सुराकी आरोपमा घाँटी रेटी हत्या गरेपछि प्रहरी थप सतर्क बनेको हो । यसअघिका हिंसात्मक गतिविधिको चन्द समूहले सजिलै जिम्मा लिने गरेको थिएन तर मंगलबार मिक्लाजुङमा प्रधानाध्यापक श्रेष्ठलाई सुराकी गरेको आरोपमा हत्या गरिएको स्वीकार गरेपछि आतंक फैलिन सक्नेप्रति प्रहरी संवेदनशील बनेको हो । मिक्लाजुङको जस्तै घटना अन्य स्थानमा पनि दोहोरिन सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले यसप्रति सचेत र चनाखो रहन सातवटै प्रदेश, महानगरीय प्रहरी कार्यालय र देशभरका संघीय इकाइ कार्यालयको ध्यानाकर्षण गराएको छ ।

मिक्लाजुङमा शिक्षकको घाँटी रेटी हत्या भएको भोलिपल्ट बुधबार बिहान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यविभाग प्रमुख (एआईजी) हरिबहादुर पाल र विशेष ब्युरोका डीआईजी प्रकाशजंग कार्कीसँग चन्द समूहका गतिविधि नियन्त्रण र प्रहरीले लिने आगामी रणनीतिबारे छलफल गरेका थिए । त्यसपछि दिउँसो गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई मन्त्रालयमा बोलाएर चन्द समूहका गतिविधिबारे जानकारी लिएका थिए ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रधानाध्यापकको हत्याको जिम्मा चन्द समूहले लिनुले उसका गतिविधि आतंककारीजस्तो देखिएको जनाउँदै यस विषयमा प्रधानमन्त्री तहबाटै आवश्यक निर्णय लिनुपर्छ कि भन्नेमा पनि छलफल भएको बताए । ‘शिक्षक हत्याको स्थिति हेर्दा आतंककारी गतिविधिजस्तो देखियो, यस्ता गतिविधि नियन्त्रण गर्न प्रधानमन्त्रीको तहबाटै आवश्यक निर्णय लिनुपर्छ भन्ने पनि कुरा उठेको छ,’ उनले भने । मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।