काठमाडौं, कात्तिक २८
यमराजको दूतका रुपमा कागलाई मिठो चिज खान दिएर काग तिहार मनाउने प्रचलन छ । विहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज शुक्रबार काग तिहार मनाइने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आज कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको छ । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल, शुभ बोल भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।
‘काकेन दधि भक्षितम’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । काग तिहारको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने बिहीबार नै सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।