काठमाडौं, असोज २८
कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने भएका हुन्।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताउँछन्।मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दसैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।
विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुला गरिनुपर्ने बताए। तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए। तर पनि स्थानीय भक्तजनहरूको आग्रहमा कात्तिक १ गतेदेखि धेरै भीड नहुने गरी भक्तालुका लागि खुला गरिने बताए।
गुठियारहरूसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो।यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपिठहरूमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।
अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भीड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन। तर अधिकांश मन्दिरहरू कात्तिक १ गतेदेखि सीमित रूपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन्।