0 COMMENTS

काठमाडौं, २३ असोज । खशान राष्ट्रिय संघर्ष समितिले खश समुदायलाई नियतवस आदिवासीमा सूचिकृत हुन बञ्चित गरिएकोमा विरोध गर्दै बिनाशर्त खश समुदायलाई आदिवासीमा सूचीकृत गरिनुपर्ने माग गरेको छ ।

आगामी मंसिर ७ गतेसम्ममा पूरा नगरे अनिश्चितकालीन आम हड्ताल गर्न बाध्य हुने र यसबाट निस्कने परिणामको जिम्मेवारी स्वय. सरकार सत्तापक्ष दल हुनेपनि समितिले चेतावनी दिएको छ ।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले विभिन्न २६ बुँदे माग अघि सारेको छ । समितिले अघि सारेका मागहरुमा आदिमकालदेखि बसोवास गर्दै आएका खश समूदायलाई आदिवासीमा सूचिकृत गरिनुपर्ने, राज्य पूर्नसंरचना आयोगको सिफारिशको आधारमा १० प्लस १ प्रदेश घोषणा गरी ऐतिहासिक पहिचानको आधारमा प्रदेशको नामाकरण गरिनुपर्ने रहेका छन् ।

त्यस्तै, स्वायत्त, संरक्षित र विशेष क्षेत्र घोषणा गरिनुपर्ने, खश र आर्यको कलस्टर अलग अलग गरि खश समूदायलाई राज्यका हरेक निकायमा समावेशी समानूपातिक प्रतिनिधित्व गराईनुपर्ने, खश समूदायको मष्टो धर्म संस्कृतिको सम्मान गर्न मष्टो पर्वको दिन सार्वजनिक विदाको व्यवस्था गरिनुपर्ने, पहिचानका ५ आधार र सामथ्र्यका ४ आधारमा थरुहट छोडेर महाकाली, सेती, भेरी, र कर्णाली अञ्चललाई खशान प्रदेश घोषणा गरिनुपर्ने रहेका छन् ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष प्रेम बहादुर खातीले भने, ‘नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, सम्मान र हितलाई शिरोधार्य गरेर संघीय व्यवस्थाबाट मात्र पिछडिएका, उत्पीडनमा परेका र सिमान्तकृत सम्पूर्ण भूमिपुत्रहरुको हित हुनसक्छ भन्ने हाम्रो ठहर छ ।’

उनले खश समूदायको ऐतिहासिक पहिचानलाई स्थापित गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ बमोजिम आदिवासीमा सूचीकरणको लागि सम्पूर्ण मापदण्ड पूरा भएको हुँदा खश समूदायलाई पनि आदिवासीमा सुचिकृत गर्न जोडदार माग गरे ।

समितिले अघि सारेका थप मागमा खशहरुको ईतिहास, भूगोल, भाषा, धर्म, सांस्कृतिक परम्पराको सोध अनुशन्धान गर्न खश आयोग गठन गरिनुपर्ने, कर्णाली भेरी सेती, महाकाली अञ्चलमा बोलिने स्थानीय खश भाषालाई प्रदेश नम्बर ६ र ७ को सरकारी कामकाजी भाषा घोषणा गरिनुपर्ने, खश समूदायलाई जल, जमिन र जंगलमाथि आदिवासीले पाउने अग्राधिकार निर्धारण गरिनुपर्ने रहेका छन् ।

त्यस्तै, वृद्ध भक्ता वितरणसम्बन्धी मापदण्ड देशभर एकै खालको बनाईनुपर्ने र वृद्धवृद्धा तथा विधवा÷विदुरको जीवनयापनको लागि कम्तिमा प्रति महिना ५ हजार भक्त कायम गरिनुपर्ने, हत्या, हिंसा बलात्कार, कशुासन, अपहरण, दलित माथिको विभेद, महिला हिंसा, बोक्सी आरोपजस्ता सामाजिक कुरीतिको तत्काल अन्त्य गरिनुपर्ने, नेपालको संविधान २०७२ अनुसार राज्यका सवै अंगमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग पनि रहेका छन् ।

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक, नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्ष भानुराम थारु, खम्बुवान राष्ट्रिय मोर्चा केन्द्रीय समितिका अध्यक्ष आर.के. खम्बु, थरुहट थरुवान राष्टिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु, मंगोल नेश्नल अर्गानाईजेशनका केन्द्रीय सदस्य जीवन मंगोल, मगरात संघर्ष समितिका संयोजक राम मगर र नेपाल राष्टिय परिषद केन्द्रीय समिति संयोजक अशोक महर्जनले समितिले अघि सारेमा मागमा ऐक्यबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।