0 COMMENTS

काठमाडौं, १८ असाेज । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा सुरक्षा फौज थपेको थप्यै छ। अतिक्रमित क्षेत्रमा नेपालीलाई प्रतिबन्ध लगाउँदै भारतीय फौजको अखडा बनाइएको छ।

उच्च स्रोतका अनुसार अतिक्रमित भूमिमा भारतीय चार सुरक्षा निकायका आधुनिक हतियारसहित ११ क्याम्प राखिएका छन्। त्यहाँ भारतीय सेना, सीमा सुरक्षा बल (एसएसबी), भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) पहिल्यैदेखि तैनाथ छन्। पछिल्लो समय गोर्खा सैनिक पनि खटाइएका छन्। नाकामा एसएसबीका १९ पोस्ट छन्।

भारतीय सञ्चारमाध्यम ‘अमर उजाला’ले लिपुलेक क्षेत्रमा भारतीय सुरक्षा फौज थप गर्नेदेखि सैनिक क्याम्प र ब्यारेक सुधारका काम भइरहेको समाचार दिएको छ। उक्त पत्रिकाका अनुसार नाभीडाङ र लिपुलेकबीच सुरक्षा फौजको पुरानो मोर्चा सुधार गर्न लागिएको हो। चीनतर्फको सुरक्षा संवेदनशीलतालाई आधार बनाएर उक्त क्षेत्रमा भारतीय सुरक्षा फौज विस्तार गरिएको हो।

स्रोतका अनुसार उक्त क्षेत्रमा नाइटभिजन हेलिकप्टरबाट निगरानीसमेत गर्ने गरिएको छ। लडाकु विमानसमेत देखिने गरेको व्यासका बासिन्दाले बताउँदै आएका छन्। अतिक्रमित कालापानी, नाभीडाङ, गुञ्जी, नाभी र कुटीमा भारतीय सुरक्षा फौजको ठूलो उपस्थिति छ। कालापानी र नाभीडाङमा सुरक्षा फौज मात्रै बसेका छन्। गुञ्जी, नाभी र कुटीमा स्थानीय बासिन्दाकै हाराहारीमा सुरक्षा फौज तैनाथ छन्।

दार्चुलाको व्यास गाउँपालिका–४ का धरमसिंह धामीले सडकमा भारतीय सुरक्षा निकायका सयौं गाडी दैनिक ओहोरदोहोर गर्ने गरेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भारतीय क्षेत्र हुँदै नेपाली भूमितर्फ सुरक्षा फौजको चहलपहल बढिरहेको स्वीकार गरे। ‘पारि सडक छ , सडकबाट सुरक्षाकर्मीका गाडी आवतजावत बढी नै देखिने गरेको छ’, पोखरेलले भने। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।