0 COMMENTS

काठमाडौं  २५ भदौ २०७७। आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ ।

चाडपर्व तथा विशेष परिस्थितिमा समेत आमनागरिकले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने उद्देश्यसहित राजमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागिएको आयल निगमका नायब कार्यकारी निर्देशक सुरेन्द्र भट्टराईले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग र कर्णाली राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउन निगमले एक कार्यदल गठन गरी अध्ययन कार्यसमेत सुरु गरेको छ । निगमले राजमार्गमा २० वटा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो ।

नागरिकलाई सहज र सरल रूपमा विश्वसनीय रूपले पेट्रोलियम पदार्थ उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रमअनुसार नै निगमले राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्न लागेको जनाइएको छ ।

राजमार्गमा पेट्रोल पम्प स्थापना तथा सञ्चालन निगमको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सूचीकृत भई निगमको सञ्चालक समितिबाट पारित भइसकेको भट्टराईले स्पष्ट पारे । पेट्रोलियम पदार्थको थोक बिक्रीवितरण निगमको मुख्य काम हुँदाहुँदै उपभोक्ताको हितका लागि तथा सरकारको नीति अन्तर्गत सबै प्रदेशमा पर्ने गरी राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्न लागिएको उनले स्पष्ट पारे । पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्रीवितरणमा राज्यको उपस्थिति कायम गर्न निगमले राजमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ ।

“चाडपर्व तथा विभिन्न अवस्थामा निजी पेट्रोल पम्प सञ्चालनमा आएको पाइँदैन । सञ्चालकको कामविशेषका कारण निजी पेट्रोल पम्पहरू कहिलेकाहीँ सञ्चालनमा आएका हुँदैनन्”, उनले थपे, “तर निगमका पेट्रोल पम्पहरू चाडपर्व, विशेष परिस्थिति वा कसैको व्यक्तिगत कारणले बन्द हुँदैनन् । उपभोक्ताले चौबीसै घण्टा सेवा लिन सक्छन् । त्यसैले निगमले राजमार्गमा पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेको हो । ” अहिले निगम, सेना, प्रहरीलगायत राज्यस्तरबाट सञ्चालित पेट्रोल पम्पहरू यसका उदाहरण रहेको उनको भनाइ छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्न निगमको आपूर्ति तथा वितरण विभागका उपनिर्देशकको संयोजकत्वमा एक समिति गठन गरी आवश्यक ठाउँ पहिचान गर्न अध्ययन कार्य अगाडि बढाइएको जानकारी दिए । भैरहवामा रहेकोे निगमको एकमात्र पेट्रोल पम्पबाट चाडपर्व तथा विशेष परिस्थितिमा समेत आमनागरिकलाई सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउँदै आएको प्रवक्ता उपाध्यायले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।