0 COMMENTS

काठमान्डाैं०२असार०७७ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषयमा पुगेर गाँठो परेको छ। असन्तुष्ट समूह प्रधानमन्त्रीबाट राजीनामा माग्ने, ओली पक्ष विधिसंगत ढंगले हटाऊ भन्ने अडानमा रहँदा निकास नदेखिएको हो।

बालुवाटारमा बिहीबार भएको त्रिपक्षीय छलफलमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले पार्टी विधिसंगत ढंगले सञ्चालन गर्ने हो भने ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहजीकरण गर्नुपर्ने बताएका थिए। ओलीले दुवै पदबाहेकमा मात्रै कुरा गर्न सकिने भन्दै पुरानै अडान दोहो-याएपछि छलफल बिनानिष्कर्ष टुंगिएको छ।

बैठकमा अन्य विषयमा समेत छलफल भएको भनिए पनि त्यसबारे खुलाइएको छैन। यसअघि ओलीसँग वार्ता हुँदा दाहालले नेपाललाई बाइपास गरेर अघि बढ्न नसकिने बताएपछि बिहीबारको छलफलमा उनलाई पनि सहभागी गराइएको थियो।

बालुवाटार बैठक बिनानिष्कर्ष टुंगिएपछि दुवै पक्ष आआफ्नो रणनीति बनाउन लागेका थिए। ओलीले आफू निकटका नेतालाई बालुवाटारमै बोलाएर छलफल गरे। ईश्वर पोखरेल, सुवास नेम्बाङ, विष्णु पौडेललगायतका केही स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्यलाई बोलाएर ओलीले छलफल गरेका हुन्। उनीहरुले पार्टीलाई एकताबद्ध बनाएर लैजान केही लचिलो भएर अघि बढ्न सुझाव दिए पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री पद छाड्न नहुने बताएका थिए।

‘महाधिवेशनबाट निर्वाचित भएर आएको अध्यक्ष पद र संसदीय दलबाट निर्वाचित भएर आएको प्रधानमन्त्री पद तत्काल छाडेमा भारत पक्षधर गतिविधि झन बढ्ने भएकाले दुवै पद छाड्न नहुने सुझाव दिएका छौं’, छलफलमा सहभागी एक सदस्यले भने। उनका अनुसार पार्टी मिलाउने जिम्मेवारी बाँडफाटको विषयमा भने थप छलफल गरेर जान सकिने सुझाव दिएको उनले बताए।

पार्टी एकता जोगाएर लैजानुपर्नै अभिमत बलियो भएको र त्यसका लागि सांगठनिक जिम्मेवारी फेरबदल गर्न सकिने निष्कर्षमा पुगेको बैठकमा सहभागी स्रोतले बतायो। ‘पार्टी विभाजन गर्नुहुन्न भन्ने विषयमा नेताहरु सहमत हुनुहुन्छ। नेताहरु आफैंले आफ्ना कमजोरी स्वीकार गरेर अघि बढे यो समस्या आउँदैनथ्यो’, बालुवाटार निकट नेताले भने। स्थायी कमिटी बैठक बस्नुअघि नेताहरुबीच सहमति भए राम्रो भन्ने सुझाव सहभागीले दिएका थिए।

ओली–दाहाल र नेपालबीच त्रिपक्षीय छलफल बिनानिष्कर्ष टुंगिएपछि नेपाल र उपप्रधानमन्त्री ईश्वर पोखरेलबीच भेटघाट भएको थियो। बालुवाटारबाट सीधै पार्टी कार्यालय धुम्वाराही पुगेका नेपालसँग पोखरेलले डेढ घण्टा छलफल गरेका थिए।

पोखरेलले नेपालसँग मिलेर जान प्रस्ताव गरे पनि छलफलका विषयवस्तुबारे केही बताइएको छैन। ‘पोखरेलले मिलेर जानुपर्छ भन्नुभयो। ओलीले कुनै पनि विषयमा छलफल गर्न आफूहरुले भनेको कुरामा नमान्ने गरेको गुनासो नेपालले गर्नुभयो त्यसबाहेक थप केही जानकारी आएको छैन’, नेपाल निकट स्रोतले भन्यो।

नेपाल–पोखरेल भेटपछि दाहाल निवास खुमलटारमा असन्तुष्ट समूहको बैठक बसेको थियो। दाहालले साँझ शीर्ष नेताहरु नेपाल झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर छलफल गरेका थिए। खुमलटार छलफलमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेता पनि सहभागी थिए। उनीहरुले ओलीको ज्यादती बढी भएको, उनी कहिल्यै पनि सुध्रिन नसक्ने र विरोधीलाई सधैं पेलेर जाने स्वभावका भएकाले उनले राखेको प्रस्तावमा मात्रै भुल्न नहुने धारणा राखेका थिए। दाहालले ओलीसँग अहिलेसम्म भएका कुराकानीबारे जानकारी गराएका थिए।

उनले आफू लचिलो भएर प्रधानमन्त्रीसँग प्रस्तुत हुँदा पनि उनको अडान कायम रहेको र आफूले राखेको प्रस्तावमा छलफल गर्न नचाहेको जानकारी गराएका थिए। असन्तुष्ट समूहले शुक्रबारका लागि तोकिएको स्थायी कमिटी बैठक नरोक्ने निधो गरेको छ। बालुवाटार बैठक भने शुक्रबारको बैठक केही दिन रोकेर छलफल गर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।