काठमाडौं २६असार०७७। नेपालमा कोभिड–१९ संक्रमण पुष्टि भएका ९९.७ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । पछिल्लो तथ्यांकअनुसार ०.३ प्रतिशत (एक हजार जनामा तीन जना) संक्रमितमा मात्रै लक्षण देखिएको छ । यो तथ्यांक मुलुकमा हालसम्म देखिएको १५ हजार ७८२ जना संक्रमितको तथ्यांकमा आधारित हो । लक्षण नदेखिएका व्यक्तिहरू सामान्यजस्तै अवस्थामा हुने भएकाले प्रयोगशाला परीक्षण नगर्दासम्म संक्रमणबारे थाहा हुँदैन ।
‘पछिल्लो तथ्यांकले मुलुकमा प्राय:जसो संक्रमित लक्षणविहीन रहेको स्पष्ट भएको छ,’ स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे भन्छन्, ‘हामीकहाँ एसिम्प्टोम्याटिक (लक्षणविहीन) केस सबैभन्दा बढी छ ।’
लक्षण नभएकाहरूबाट अन्य व्यक्तिमा रोग सर्न सक्ने जोखिम हुन्छ । लक्षण नभएकाले समेत कोरोनाको जोखिम समूह ठानिएका बूढापाका, रोग प्रतिरोधक क्षमता कम भएका, सुत्केरी र दीर्घरोगीमा संक्रमण सार्न सक्छन् । बालबालिका, युवा र सक्रिय उमेर समूहकाले आफ्नो घर, छरछिमेक र समुदायमा कोरोनाको जोखिममा रहेकालाई संक्रमण हुन नदिन विशेष सावधानी अपनाउनुपर्ने डा. पाण्डेले बताए । सबैभन्दा सक्रिय रहने गरेको उमेर समूहमै न्यून मात्रामा कोभिडको लक्षण देखिएको छ । नेपालमा ५४ वर्षसम्मको उमेर समूहका व्यक्तिमा अत्यन्त न्यून लक्षण देखिएको हो । करिब ९१ प्रतिशत संक्रमित १५ देखि ५४ वर्ष उमेर समूहका छन् ।
८५ वर्षमाथिका संक्रमित ४ जना मात्रै छन् । तीमध्ये एक जनामा मात्रै लक्षण देखिएको थियो । ती व्यक्तिको मृत्यु भइसकेको छ । बाँकी रहेका तीन जनामा कुनै लक्षण देखिएको थिएन । यस्तै ७५ देखि ८४ वर्ष सम्मका २५ जना संक्रमित रहेकामा एक जनामा मात्रै लक्षण देखिएको छ । विश्वमा लक्षण नदेखिने संक्रमणका बारेमा विभिन्न अध्ययन–अनुसन्धान जारी रहे पनि यसको कारणका रूपमा केही खास कुराहरू पहिचान भएको वा हुने प्रक्रियामा समेत छ ।
‘मुलुकमा छुट्टै अध्ययन नभए पनि क्रस इम्युनिटी, जेनेटिक भेरिएसन, रक्त समूह, लिंग, खानपान, प्रभावित उमेर समूह, भाइरल लोड आदि लक्षण नभएको संक्रमण बढी हुनुको कारक हुन सक्छ,’ ईडीसीडीका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने । यस्तै बीसीजी र रुबेलाविरुद्धको खोपको अवस्था, शरीरमा भिटामिन डीको स्तर, शारीरिक सक्रियता आदिले कोभिडको गम्भीरतालाई निर्धारण गर्छ ।
पछिल्लो समय संसारभर नै कोभिडको भाइरस कमजोर हुँदै गइरहेको दाबी गरिएको छ । कोरोनाको मृत्युदर विश्वभर नै घटिरहेको छ । ‘पछिल्लो समय यो भाइरसको म्युटेसन हुँदै कमजोर बन्दै गइरहेको अवस्था विश्वभरि नै देखिएको छ,’ महतोले भने, ‘कोभिड भाइरससमेत कमजोर भइरहेको अवस्थामा नेपालमा रहेको भाइरसको अवस्थाबारे जान्न अध्ययन अत्यावश्यक छ ।’
कोरोना संक्रमितमा देखिने मुख्य लक्षण सुक्खा खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या, अक्सिजन कम हुनु, स्वाद र गन्ध थाहा नहुनुलगायत छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आएका ९२ जना संक्रमितमध्ये समस्या देखिएका केही व्यक्तिमा यस्तो लक्षण देखिएको थियो । टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाका अनुसार पछिल्लो समय अस्पताल आउने अधिकांश व्यक्तिमा लक्षण देखिएको छैन ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार विश्वमा करिब ४० प्रतिशत केस लक्षणविहीन हुन सक्छ । यस्तै अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार विश्वमा करिब २५ प्रतिशत केस एसिम्प्टोम्याटिक हुन सक्छ । विज्ञहरूका अनुसार भारतमा समेत हाल करिब ८० प्रतिशत कोरोनाको केस लक्षणविहीन छ । तर कुनै पनि समुदायमा लक्षणविहीन केस पत्ता लगाउन अत्यन्त गाह्रो हुने गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ जारी गर्ने कोरोनासँग सम्बन्धित बुलेटिनमा प्रयोगशालाले दिनहुँ गरेको जाँचको संख्या दिन बुधबारदेखि बन्द गरेको छ । मन्त्रालयले यसअघि प्रयोगशालाले दिनहुँ गरेको जाँचको संख्या र त्यसमा देखिएको कोरोना पोजिटिभको संख्या ८ दिनसम्म खुलाउने गरेको थियो ।
कान्तिपुर दैनिकले गत मंगलबार ‘परीक्षण गरिएजति सबैको पीसीआर कसरी पोजिटिभ ?’ शीर्षकमा समाचार प्रकाशित गरेपछि देशभर सञ्चालित २५ प्रयोगशालामा दैनिक पीसीआर परीक्षण संख्याको जानकारी दिन बन्द गरिएको हो । मन्त्रालयले ती प्रयोगशालामा देखिएको कोरोना पोजिटिभको तथ्यांक मात्र दिन थालेको छ । ‘स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रयोगशालाले दिनहुँ गरेको नमुना परीक्षणको संख्या उल्लेख गर्न छाड्नु हुन्न, देखिएका समस्या समाधान गर्नुपर्छ,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसी भन्छन्, ‘मन्त्रालयले आफैं २४ घण्टामा कति परीक्षण गरियो र त्यसमा कति पोजिटिभ देखिएको भन्ने जानकारी दिने राम्रो सुरुवात गरेको थियो ।’ अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।