पाल्पा, १३ असार । शुक्रबार रुपन्देहीको वुटवल हुँदै पाल्पामा पनि सलह कीरा प्रवेश गरेको छ । शनिबार दिउँशो रुपन्देहीको बुटवल क्षेत्रमा देखिएको सलह कीरा बेलुकी पख पाल्पाको दोभान, माडीफाँट, तानसेन, बगनासकाली, लगायतका क्षेत्रमा देखिएको स्थानीय बासिन्दाले बताएका छन् । सलहको लाखौँको झुण्ड पाल्पाका विभिन्न स्थानमा देखिएको छ ।
शनिबार बेलुकीपख पाल्पा प्रवेश गरेको सलह कीरा मौसम सफा नभएको र चिसो भएकाले अल्मलिएको देख्न सकिन्थ्यो । केही स्थानका स्थानीय कृषकहरुले बिभिन्न बाजा बजाएर सहल कीरा धपाएको वताउछन् ।
कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव प्रसाद अर्यालले रातिमा वास बस्दा सलहले अन्नबाली तथा अन्य बिरुवामा खासै असर नगर्ने तर दिउँसो र ताप बढेपछि भने अन्नबालीमा सलहको आक्रमण बढ्ने भएकाले सचेत रहनुपर्ने बताउनुभयो ।
सलहको असरबाट बच्न ठूलो आवाज आउने बाजा बजाएर होहल्ला गर्नुपर्ने, धुँवा उडाउनुपर्ने वा विषादीको प्रयोग गर्नुपर्ने अर्यालले बताउनुभयो । सहल कीरा पाल्पा प्रवेशसंगै कृषकहरु समेत त्रसित वनेका छन् ।
सलह कीराको खासै प्रभावकारी औषधि नभएको हुँदा सहल कीरावाट अन्नवाली तथा फलफूलहरु बचाउन किसानहरु नै सचेत र सक्रिय रुपमा लाग्न जरुरी देखिन्छ ।