दार्चुला, जेठ १०/नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।
भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एक/दुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२/१५ पटक हेलिकप्टर आकाशमा आइरहन्छ,’ स्थानीय धनसिंह धामीले भने । भारतले वैशाख तेस्रो साताबाट माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान बढाएको उनले जानकारी दिए ।
धामीका अनुसार भारतले हरेक वर्ष यो समय कालापानीलगायत उत्तरपश्चिम क्षेत्रमा हवाई उडान गर्ने गर्छ । ‘व्यास (भारततर्फ) क्षेत्रमा मानिस बसाइँ सर्ने भएकाले खाद्यान्नलगायत सामान भारतले हेलिकप्टरबाटै ढुवानी गर्छ,’ उनले भने, ‘तर यो वर्ष गस्ती पनि भएकाले धेरै उडान भइरहेको छ ।’
पहिले बाटोको समस्या हुँदा हेलिकप्टरबाटै मानिसलाई माथि पुर्याउने गरिएको थियो । बाटो बनेपछि भने गत वर्षबाट भारततिरका नागरिक पैदल माथिल्लो क्षेत्र जाने गरेका छन् ।
भारतले अहिले धार्चुलाबाट भन्दा पिथौरागढलगायत क्षेत्रबाट हवाई उडान बढी गरिरहेको छ । यसअघि भारतले धार्चुलाबाटै व्यास क्षेत्रमा सबै किसिमको उडान भथ्र्यो । यो वर्ष दिल्लीबाट पनि हेलिकप्टर कालापानी क्षेत्रमा आइरहेको भारतीयलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार निर्माणका मेसिन र बढी मात्रामा हातहतियार लैजानुपरे माथिबाटै सिधै हेलिकप्टर नेपाली भूभाग गुन्जीमा अवतरण हुन्थ्यो । भारतले उक्त क्षेत्रको सबैभन्दा ठूलो हेलिप्याड गुन्जीमै बनाएको छ । त्यहाँबाट कालापानीलगायत अन्य भारतीय सुरक्षा पोस्टमा सामान ढुवानी हुने गरेको छ ।
भारतले व्यासतर्फको क्षेत्रमा सुरक्षाकर्मीको संख्या पनि बढाएको छ । पिथौरागढबाट सिधै हेलिकप्टरमार्फत सुरक्षाकर्मी कालापानी क्षेत्रमा पठाएको उक्त क्षेत्रमा काम गर्ने नेपालीलाई उद्धृत गर्दै स्थानीय दलजित कुँवरले बताए । भारतले गुन्जीदेखि कालापानी र लिपुलेकसम्म भारत–तिब्बत पुलिस (आईटीबीपी), भारतीय सेना, सीमा सुरक्षा बललगायत ६ वटा सुरक्षा अंग राखेको छ ।
चीनसितको रणनीतिक क्षेत्र भएकाले भारतले ती ठाउँहरूमा विभिन्न सुरक्षा निकायका क्याम्प राखेको छ । सबै सुरक्षा निकायका करिब १० हजार जनशक्ति तैनाथ रहेको स्थानीय बताउँछन् । नेपाली सुरक्षा अधिकारीले कालापानी क्षेत्रमा भारतले सुरक्षाकर्मी बढाएको खबर प्राप्त भए पनि के कति संख्यामा थपेको बारे यकिन नभएको बताए ।
पछिल्लो समय भारतले व्यास गाउँपालिका–२ दुम्लिङपारि गर्वाधारदेखि लामरी, छियालेकलगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेको स्थानीय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतले नेपालतर्फको सीमा क्षेत्रमा पैदल गस्ती पनि बढाएको छ । सीमा क्षेत्रको गस्तीमा ५/७ जना आउने ठाउँमा १०/१२ जना तथा दिनमा दुई पटक गर्ने ठाउँमा ४/५ पटक आउने गरेका छन् ।
भारतले पिथौरागढदेखि धार्चुला, छियालेक, गुन्जी तथा कालापानी क्षेत्रमा सुरक्षाकर्मीको ठूलो दस्ता राख्दै आएको छ । स्थानीयका अनुसार भारत–चीनको युद्धपछि भारतले पिथौरागढदेखि माथिल्लो क्षेत्रलाई सुरक्षा निगरानीमा राख्न ठूलो संख्यामा सैनिक क्याम्प राखेको छ । कान्तिपुर दैनिकबाट