प्रतिभा भट्टराइ, विभिन्न थरीका धर्म, दर्शन र संस्कार भएको कर्मभूमि नेपालमा जन्मेका हामीहरू मध्ये धेरैले पौराणिक कथा हरु सुन्दै हुर्कने क्रममा धेरै वर्ष ब्रह्मा को तपस्या गरेर अमर हुने वर मागेको हिरण्यकश्यपु को पनि क्षणभरमै अकल्पनीय ढंगले मरण भएको र विष्णुका भक्त भएका कारण आफ्नै बाबुले अनेक जुक्ति लागाएर मार्न लगाउँदा पनि हार खाएका कथा हरु सुनेका छौं। समय परिवर्तन सँगै घटना मा परिवर्तन भएर पैसा, पद र पहुँच वा घरभरि डाक्टर हुँदाहुँदै पनि आफ्ना प्रिय जनहरुलाई बचाउन नसकिएको र ठूलो दुर्घटना मा परेका हरु पनि बाँच्न सफल भएका खबरहरु पनि कहिलेकाहिँ सुन्ने गरिन्छ।
जन्मे पछि मर्नु पर्ने ध्रुव सत्य सबैलाई थाहा छ अनि विज्ञानको सफलताले मानिसको आयु निकै लम्ब्याउन सकिने कुरा पनि हामीले बुझेका छौं। यसरी कुनै कारण मानिसलाई रोग लागिसके पछि डाक्टरी उपचारलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्ने भए पनि कहिले काँही अस्पताल बाट उपचार सम्भव नभएर घर फर्किएको भनेका हरु पनि अन्य उपाय द्वारा जीवन सहज भएको बताउने गर्दछन l उपाय जे जस्तो भएपनि एउटा मानिसको जीवन केहि लम्बिँदा उसले इच्छा लागेका कामहरू गर्न पाउँछ भने घरपरिवारको लागि पनि निकै राहत मिल्न जान्छ।
आज हरेक कुराको प्रमाण खोज्ने नयाँ पुस्तालाई विज्ञानको आविष्कारले असाध्यै अचम्म र हर्षित बनाउने प्रविधिहरु वा चमत्कार हरु दिएको छ भने बलवान समयले निम्त्याउने प्राकृतिक विपत्ति अनि महामारी हरुले पनि बेलाबखत सताउन छोडेको छैन त्यस्तै विज्ञान भन्दा धेरै माथि रहेको अध्यात्म भित्र भएका कतिपय रहस्यहरु को पनि खोजी गर्न सकिएको छैन।
लामो समय खडेरी पर्दा महादेवसँग पानी मागेर कृषि धान्ने र मछिन्द्रनाथ को पूजा आजा सँगै सहकालको आगमन भएको मान्यता राख्ने हाम्रो संस्कृति भित्र, महामारीका बेला अपनाउन सकिने कालका पनि काल, महाकाल (महादेव) का महामृत्युञ्जय मन्त्र, चण्डिमा भएका रोगव्याधी हरण गर्ने मन्त्र का विधिपूर्वक जप, हवन लगायत धार्मिक कार्यहरू द्वारा विश्वमा शान्ति ल्याउन सकिने उपायहरु प्रसस्तै छन्।
यसर्थ गौतम बुद्धको, “जो सँग जे छ, उसले त्यही दिन सक्छ।” भन्ने भनाइलाई मान्यता दिँदै विकसित देशहरूले आफ्नो दक्ष जनशक्ति परिचालन गरी यो महामारीको उपाय हरु खोजी रहेका बेला, उनीहरुको मेहेनतको छिट्टै सफलता को कामना गर्दै, विश्व स्वास्थ्य संगठनले समेत यो महामारीको अन्त्य नहुन पनि सक्छ भनेर चेतावनी दिइरहेका बेलामा, हामीले पनि योगीहरुले सिकाएका योग को अभ्यास ,सनातन हिन्दू धर्म भित्रका कुराहरूको विश्वास लगायत देशमा भएका अमूल्य जडीबुटीहरुको प्रयोग जानकार व्यक्ति हरुको सल्लाह अनुसार गरी उनीहरूले तयार पारेको भनिएका औषधिहरूको परीक्षण गर्दै विषम परिस्थिति को सामना गर्न सकिएन भने देशमा भएका वनस्पतिहरू मा गर्व गर्नु को औचित्य रहँदैन।
तसर्थ विज्ञ तथा जानकार व्यक्ति हरुले गर्न खोजेका कामहरू लाई पनि सामाजिक दूरी र अपनाउनुपर्ने सावधानीको जानकारी सहित आवश्यक व्यवस्था, सहयोग र प्रेरणा दिई समाज, राष्ट्र अनि विश्व बचाउने काममा सके सम्म पहल गर्नु उचित हुन सक्छ।