0 COMMENTS

काठमाडौँ, २ वैशाख०७७/सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नागरिकको सुरक्षाका लागि वैशाख १५ गते मध्यरातसम्म लकडाउन कायम राख्ने निर्णय गरेको बताउनुभयो । “विश्वव्यापीरुपमा कोरोना भइरसको सङ्क्रमण फैलने सम्भावना कायम नै रहेको हुनाले यही वैशाख १५ गते मध्यरातिसम्म लागू हुने गरी लकडाउन कायम गर्ने निर्णय भएको छ”, सरकारका प्रवक्ता डा खतिवडाले भन्नुभयो ।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले कोरोना भाइरसबाट सुरक्षित रहन छिमेकी मित्र राष्ट्रहरुले चालेको प्रयास र अभ्यासलाई समेत ध्यानमा राखेर काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा बसोबास गर्ने सबैलाई सुरक्षा दिनका लागि नेपालमा अन्तर्राष्ट्रिय र खुला सिमानाबाट हुने आवतजावत बन्द गर्ने पहिलाको निर्णयलाई नै निरन्तरता दिइएको छ, आदेशको पूर्ण पालना नगर्नेलाई कानूनबमोजिम कारवाही गर्ने निर्णय भएको छ ।”

सरकारले कोरोना सङ्क्रमण र रोगको रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएको जनाउँदै हालसम्म यसको पालना गरी साथ दिएकामा सबै नेपालीलाई धन्यवाद दिएको छ । बैठकले प्रशासन क्षेत्रका सहसचिव अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ का प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ । प्रदेश नम्बर २ मा रहनुभएका मुख्य सचिवलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गर्ने निर्णय गरिएको छ । बैठकले इञ्जिनयिरिङ क्षेत्रका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टमा पदस्थापना गर्ने र नेपाल ट्रष्टका सचिव रामकृष्ण सापकोटालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।