0 COMMENTS

काठमाडौँ, २५ चैत०७६/हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजाराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताउनुभयो ।
विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत सो मेलाले निरन्तरता पाएको थियो । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताउनुभयो ।
मन्त्री मानन्धरले यो जात्रा अर्थात् मेला इतिहासमा पहिलो पटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ । यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो ।
यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ । बाइसधारामा नुहाउँदा छालाका रोगसमेत निको हुने भक्तजन बताउँछन् । किंवदन्तीअनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको थियो । यसै मान्यतानुसार बाइसधारा जात्रा मनाइने चलन रहिआएको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।