कलैया, २१ चैत०७६/नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरी परिवारजनले दोषीलाई कडा कारवाही र पीडितजनलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका हुन् ।
यही चैत १५ गते समान्य ज्वरो र रुघाखोकी लागेपछि नेशलन मेडिकल कलेजमा भर्ना गरिएका विजयलाई स्वास्थ्य जाँच गरी डा मन्सुरीले कोरोना भाइरसको सङ्क्रमण भएको बताएको मृतकका भाइ महेशले बताउनुभयो । बेड नम्बर २४ मा भर्ना गरिएका दाइको वार्डबाट सबै बिरामीलाई अर्को वार्डमा सारेको र आफूहरुमाथि दुव्र्यवहार गरी प्रहरी लगाई ‘कोरोना भएको व्यक्तिलाई एक मिनेट पनि राख्न नसक्ने’ भन्दै अस्पतालले जबरजस्ती नारायणी अस्पतालमा पठाएको मृतकका अर्का भाइ राजाले बताउनुभयो ।
नारायणी अस्पतालले बिरामीको अवस्था हेरी वीरगञ्जको हेल्थकेयरमा रिफर गरेको थियो । त्यस अवधिसम्म मिडियामा दाइ विजयको कोरोना लागेको खबर पनि अस्पतालले चारैतिर फैलाइसकेको भाइ महेशको आरोप छ ।
चैत १६ गते हेल्थकेयर, ब्योधालगायतका अस्पतालमा लगे पनि कोरोना लागेको हो भनी उपचार नगरेपछि बाध्य भएर राति करिब नौ बजे एम्बुलेन्स भाडामा लिई काठमाडौँ लगिएको उहाँले बताउनुभयो । “बाटोमै दाइको अवस्था निकै बिग्रिसकेको थियो । टिचिङ अस्पतालमा भर्ना गराएपछि केहीबेरमै मृत घोषणा गरियो”, महेशले भन्नुभयो, “शवलाई फ्रिजमा राख्न लगाएर म र भाइ राजालाई क्वारेन्टाइनमा राखी खानसमेत दिइएन ।”
त्यहाँका वरिष्ठ चिकित्सकहरूले आफूहरुलाई बोलाई सबै कुरा सोधपुछ गरेर कोरोना परीक्षणका लागि शव टेकु अस्पतालमा पठाएइएको र परीक्षणमा दाइ विजयमा कोरोना भाइरसको सङ्क्रमण फेला नपरेपछि चैत १८ गते शव बुझाएको उहाँले बताउनुभयो । उहाँका अनुसार त्यही दिन शवलाई बारा ल्याई दाहसंस्कार गरियो । मृतककी श्रीमती अन्तिमा सात महिनाको गर्भवती छिन् ।
बारा र पर्साका प्रहरी प्रशासनलाई समस्याका बारेमा जानकारी दिँदासमेत कुनै सुनवाइ नभएकाले दाइको ज्यान गएको भन्दै भाइ महेशले अरु नेपाली दाजुभाइको पनि दाइजस्तो ज्यान नजाओस् भनेर सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।
उहाँले यस्तो गैर जिम्मेबार नेशनल मेडिकल कलेजको खारेजी र डाक्टरमाथि कडा कारवाहीको माग गर्नुभयो । कोरोना पुष्टि भएको रिपोर्ट दिने नेशनल मेडिकल कलेजका प्रबन्धक, चिकित्सक, नर्स र ल्याबमा काम गर्नेहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने मुद्दा दिने उहाँले बताउनुभयो ।