0 COMMENTS

काठमाडौं २९फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण मानिसझैं पहिलेकै अवस्थामा फर्किन कम्तीमा ६ महिना लाग्ने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएपछि आराम गरिरहेका प्रधानमन्त्री ओली चिकित्सकको निगरानीमा छन् । यद्यपि, डिस्चार्जपछि प्रधानमन्त्री निवास बालुवाटारमा चिकित्सकको निगरानीमा बसेर उनले पदीय दायित्वअनुसारको काम गर्न सक्ने चिकित्सकको भनाइ छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रधानमन्त्री ओलीलाई साधारण नागरिक जत्तिकै सक्रिय हुन अझै ६ महिना लाग्छ । ‘पहिलो एक महिना उहाँलाई औषधिको बढी डोज भएकाले संक्रमणको सम्भावना रहन्छ त्यसैले भीडभाडमा जानु जोखिम हुन्छ । ६ महिनापछि भने साधारण मान्छेझैं सक्रिय रूपमा जीवन बिताउन सक्नुहुन्छ,’ प्रा. डा. शाहले भनिन् ।

प्रधानमन्त्री ओलीले डिस्चार्जपछि दैनिक कार्यहरू सचिवालयबाटै गर्न मिल्ने उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार पारिवारिक निर्णयपछि प्रधानमन्त्री ओलीलाई डिस्चार्जको तयारी थालिनेछ ।

डिस्चार्ज गर्दा फरक नपर्ने भए पनि घरमा आवश्यक व्यवस्थापनको तयारी पूरा नभएकाले केही समय अस्पताल बसाइ लम्बिएको मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. शाहले जानकारी दिइन् । ‘घरमा पनि तयारी गर्नुपर्ने हुन्छ । तयारी अझै पूरा भइसकेको छैन । घरबाट पनि एक–दुई दिन अझै राखिदिनुहोस् भनेर रिक्वेस्ट आएको छ । यद्यपि, प्रधानमन्त्रीे अस्पतालबाट छिटो डिस्चार्ज हुन चाहेका छन्,’ उनले भनिन् ।

प्रधानमन्त्रीलाई सहज नहुँदासम्म डिस्चार्ज नगरिने प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् । प्रा.डा. शाहले भनिन्, ‘अपेक्षाकृत सुधारका लक्षण देखिएका छन् । हामी यथाशीघ्र चाँडो डिस्चार्ज गर्छौं,’ उनले भनिन् ।

प्रधानमन्त्रीको मिर्गौलाले कम मात्रामा काम गर्न थालेपछि डायलाइसिस दिँदै आए पनि सोही समयबाट प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिँदै आएका थिए । डायलाइसिसभन्दा प्रत्यारोपण गरिएका बिरामीको स्वास्थ्य अवस्था राम्रो हुने मिर्गौला रोग विशेषज्ञहरू बताउँछन् ।

शाहले भनिन्, ‘चार महिनादेखि प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दै आइरहेका थियौं । सबै कुरा मिलिसकेपछि एक महिनाअघि त्रिवि शिक्षण अस्पतालमा प्रत्यारोपण गर्ने भन्ने तय भइसकेको थियो ।’

मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था पनि सामान्य बन्दै गएको छ । उनले केही दिन अझै अस्पतालमै आराम गर्न चाहेको प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवालीले बताए । एक साताअघि बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।