सृष्टि सञ्चालन र घरव्यवहार मा नारी र पुरुषका दायित्व फरक तर बराबर हुन्छन् भने देशको विकास र निर्माणका हरेक कार्यहरूमा पनि उचित शिक्षा र अवसर पाएको खण्डमा आजका नारी, पुरुष सरह नै जिम्मेवारी वहन गर्न सक्ने भइसकेको कुरा कसैबाट छिपेको छैन। नारीमा भएका करुणाका भाव, इमान्दारिता, सहनशीलता तथा कर्तव्यपरायण ता विना सभ्य समाजको निर्माण हुन सक्दैन भने शक्ति नभए शिव पनि शव हुन्छन् भनेर शास्त्र ले पनि बताएको छ।
मात्र जन्म घर छोड्नु पर्ने सामाजिक चलन या संस्कारका कारण अपरिचित घरलाई आफ्नो बनाउनु पर्ने बाध्यता अनि संकीर्ण सोच भएका घर परिवार पर्न गए जल्न, मारिन र मर्न वा पीडित भएर बाँच्नु पर्ने अवस्थाको सिर्जना हुने भए पनि राज्य ले नारीलाई दिएको हक, हित, अधिकार र स्वतन्त्रताको सदुपयोग, आवस्यक परेको खण्डमा खोजी गरी संघर्ष गर्न सके अब ती दिनहरू बाट पनि टाढा रहन सकिन्छ।
यति हुँदाहुँदै पनि समाजमा समय परिवर्तन सँगै नसोचिएका घटना हरु हुन जाने भएकोले नारीलाई सुखी, खुसी र सम्पन्न बनाउने कार्यले पूर्णता पाउनु भने त्यति सहज देखिँदैन। तैपनि कुनै पनि काम को सही अवधारणा बनाई निरन्तरता दिई लागि पर्ने हो भने एक दिन पूरा गर्न सकिने कुराको मनन गरी आउँदा वर्ष हरुमा देशले नारीलाई उपहार स्वरूप नारीहरू कै सहभागिता र सक्रियतामा कृषि क्रान्ति गरिनु पर्छ जस्को कारण आफ्नो घर परिवार को स्याहार र सुस्वास्थ्यको खातिर अहोरात्र खट्ने नारीहरूले जानी जानी हरेक छाक मा उनीहरूलाई विष खुवाउन नपरोस्।
त्यस्तै गरी औद्योगिक क्रान्ति गरी देशका सम्पूर्ण युवा शक्ति लाई रोजगारी प्रदान गर्न सक्नु पर्छ।जस्को कारण उमेर पुगेपछि बाबु आमाले, छरछिमेक इष्टमित्र र साथीभाइलाई गुहारेर मिलाइदिएका जोडीहरु काम र दामको खोजीमा बिदेसिए पश्चात सुखी जीवन यापन को कल्पनामा हाँस्दै आएको आफ्नो प्यारो मान्छेको स्वागतको प्रतीक्षा मा रमाएर बसेका नारीहरूले बाकसमा फर्केको देखेर रुँदै बिदा गर्न नपरोस् तथा आफ्नो श्रीमान सँगको बिछोड मा दोस्रो पुरुषतिर आकर्षित भई कुनै नारीले नचाहँदा नचाहँदै आफ्नो घर परिवार बर्बाद पार्न नपरोस् अनि यसका साथै शैक्षिक क्रान्ति गरियोस् जस्को कारण देशका कुना कुनामा शिक्षाको उज्ज्यालो ज्योति फैलियोस् अनि छाउ गोठ हरु भत्काउन नभई बनाउनै मन् नलाग्ने अवस्थाको सिर्जना होस्।