रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो साता नै सकिने हुँदा पानी राख्ने तयारी गरिएको हो ।
पोखरीमा राखिने पानी तीन स्थानबाट ल्याइने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको छ । त्रिचन्द्र कलेज क्षेत्रबाट एउटा र अर्को शान्तिबाटिकाबाट बोरिङ खनी पानी ल्याउने तयारी छ । त्यसैगरी टुँडिखेलमा रहेको इनारबाट पोखरीका लागि पानी लगिनेछ । मेलम्चीको पानी आएपछि त्यहाँबाट पनि ल्याइने प्रबन्ध मिलाइनेछ । अहिले पर्खाल निर्माण तथा मन्दिरमा जाने पुल निर्माण र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम निकै अघि बढिसकेको छ । वैशाखसम्मा ती सबै काम सकिनेछ ।
समग्रमा महत्वपूर्ण कामका रूपमा रहेको पोखरीको काम ६४ प्रतिशत सम्पन्न भएको छ । पोखरीमाथि सौन्दर्य अभिवृद्धि गर्ने काम पनि तीव्ररूपमा अघि बढेको प्रधिकरणले जनाएको छ । पोखरीमा अहिले इँटा लगाउने काम भइरहेको छ । हाल ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन् । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।
त्यसैगरी बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम तीव्ररूपमा भइरहेको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ, त्यस्तै पर्खालको काम पनि लगभग सकिएको छ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले वैशाखसम्ममा नागरिकले पुरानै शैलीको रानीपोखरी देख्न पाउनेगरी पुनःनिर्माणको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणअन्तर्गत धेरै काम सम्पन्न भइसकेको छ । बाँकी काम नियमितरूपमा भइरहेकाले तोकिएको समयमा पुनःनिर्माण सम्पन्न हुने कुरामा कुनै शङ्का लिनुपर्दैन ।” शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पनि पुनःनिर्माणको काम अघि बढ्न नसकेको हो ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिए तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।
भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पु¥याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो ।
रानीपोखरी पुनःनिर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्रशम्शेरको पालामा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिने छ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् ने सं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (वि.सं. १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।
पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।