काठमाडौं २२,फाल्गुण २०७६। विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाउनुभयो ।
“यति बेला कोरोनालाई लिएर एक प्रकारको त्रास जनतामा रहेको हामीले बुझेका छौँ, तर केही थाहा नभएको अवस्थामा यसको जोखिम जति बढी हुन्छ, थाहा पाइसकेपछि केही कम गर्न सकिन्छ”, उहाँले भन्नुभयो । कोरोना भाइरस, यो हुने कारणका बारेमा धेरै कुरा पत्ता लागेको नयाँ विज्ञप्तिमार्फत उहाँले जनाउनुुभयो । “कोरोना सार्स जस्तो, मर्स जस्तो र इन्फ्लुएन्जा जस्तो हैन; यो एउटा निकै फरक विशेषता भएको भाइरस हो, तर यो इन्फ्लुएन्जा (मौसमी फ्लु)मा जस्तै नाक र मुखबाट बग्ने साना कणबाट एकअर्कामा सर्छ”, उहाँले इन्फ्लुएन्जा र कोरोनाबीच धेरै अन्तर रहेको प्रस्ट्याउँदै भन्नुभयो, “प्राप्त परीक्षणको तथ्याङ्क अनुसार पहिलो फरक इन्फ्लुएन्जाजस्तै सहजै यो सर्दैन किनकि जसलाई इन्फ्लुएन्जा भएको हुन्छ, त्यो बढी रफ्तारमा सर्छ । कोरोनामा यस्तो देखिएको छैन ।”
अहिलेको आवश्यकता कोरोनाविरुद्धको एन्टिबडी खोज्नु रहेको औँल्याउँदै उहाँले भइरहेका अध्ययनले सघाउने विश्वास व्यक्त गर्नुभयो । विश्व स्वास्थ्य सङ्गठनले निर्माण गरेको प्रोटोकल अनुसार हरेक देशले अध्ययन गरेर त्यो सार्वजनिक गर्न सक्ने विषयमा हौस्याउनुभएको छ । दोस्रो भिन्नताका बारेमा प्रस्ट्याउँदै उहाँले मौसमी फ्लुभन्दा कोरोनाले अधिक गम्भीर रोग निम्त्याउँछ । मौसमी फ्लुको प्रतिरोधात्मक क्षमता निर्माण भइसकेको छ तर कोभिड–१९ नयाँ भाइरस भएकाले यसको प्रतिरोध बनेको छैन । यसका कारण धेरै मानिस अझै सङ्क्रमणको जोखिममा छन् । यसकै कारण केही मानिस गम्भीर रोगले ग्रस्त हुन सक्ने उहाँले बताउनुभयो ।
मौसमी फ्लुको तुलनामा कोरोनाबाट बढी मृत्युदर कायम भएको छ । सङ्क्रमितमध्ये मौसमी फ्लुले एक प्रतिशत कम मृत्युदर रहेको देखिएको छ । तर हालसम्मको परिणामले कोरोनाबाट कुल सङ्क्रमितमध्ये ३.४ प्रतिशतको मृत्यु भइरहेको देखाएको छ । चीनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउन सफल भएको दाबी गरेको छ । चिनिया सेनाको मेजर जनरलको एक टोलीले कोरोना विरुद्धको भ्याक्सिन बनाएको चीनले दाबी गरेको छ । हाल परीक्षणका क्रममा रहेको यो भ्याक्सिन छिट्टै नै आम उपचारका लागि सार्वजनिक गरिने चीनले बताएको छ ।
२० खोप परीक्षण चल्दै
तेस्रो फरकका बारेमा बताउँदै ग्रेबियसले कोरोनाको उपचार पद्धति र खोप उपचार पहिले नआएको उल्लेख गर्नुभयो । तथापि हालै गरिएका परीक्षणले २० वटा खोप विकास भइसकेका छन् । यिनको चिकित्सकीय परीक्षण चलिरहेको छ । चौथो फरकमा उहाँले मौसमी फ्लु नियन्त्रण गर्न नसकिने तर कोरोना भाइरस नियन्त्रण सम्भव रहेको विश्वमाझ जानकारी दिनुभएको छ । अन्य फ्लुमा देशहरूले सम्पर्कविच्छेद गर्दैनन् तर कोरोनामा गर्नुपर्छ । यसले सङ्क्रमणबाट जीवन बचाउँछ । यी फरकका आधारमा विश्व स्वास्थ्य सङ्गठनले अन्य फ्लुभन्दा कम फैलने र सङ्क्रमण नभएको मानिसबाट सर्दैन भनेको छ । तर कोरोनाले गम्भीर बिरामी निम्त्याउँछ । यसको कुनै खोप र उपचार पद्धति भएर लागू
भएको अवस्था छैन । यथासक्य छिटो त्यो उपचार र खोप पद्धति विकास गर्न सबै देशको सहभागिताका लागि आह्वान गरिएको छ । त्यस्तै फ्लुको जसरी उपचार नगर्न सिफारिस गरिएको छ ।
अत्यावश्यक सामग्रीको अभाव
देशको आपसी सुरक्षाको उपायसँगै बढ्दो माग, भण्डारण र दुरुपयोगका कारण विश्वव्यापी आपूर्तिमा समस्या बढेको जनाउ उहाँले दिनुभयो । पन्जा, मेडिकल मास्क, चस्मा, अनुहार छोप्ने सामग्री, गाउन, एप्रोनको अभावले स्वास्थ्यकर्मी, चिकित्सक, नर्सलाई आइसोलेसनमा राखिएका बिरामीको हेरचाह गर्न मुस्किल भइरहेको छ । स्वास्थ्यकर्मीको सुरक्षाबिना कोरोना रोक्न नसकिने भएकाले संवेदनशील हुन आग्रह गरिएको छ । सर्जिकल मास्कको मूल्य दुई गुणा बढेको, एन–९५ मास्क र गाउनको मूल्य तीन गुणाले बढेको डब्लूएचओले जनाएको छ ।
बिचौलियाले भण्डारण गरेको सामान खरिद गर्दा बजारमा मूल्य बढेकाले ती सामग्रीको उत्पादन बढाउन आह्वान गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाको उपचार गर्न मासिक ८९ लाख मेडिकल मास्क आवश्यक पर्छ । त्यस्तै ७६ लाख ग्लोब्ज र एक लाख गोगल आवश्यक पर्छ । इरान र चीनमा सङ्गठनले आफैँ काम गरिरहेकाले त्यो आपूर्ति गर्न कठिनाइ भइरहेको जनाएको छ । यस्ता अत्यावश्यकीय सामग्री तत्काल ४० प्रतिशतले बढी उत्पादन गर्नुपर्ने अवस्था रहेको औँल्याइएको छ ।
बढ्दो उमेरमा मृत्युदर बढी
युरोप क्षेत्रमा युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले कोरोनाको जोखिम न्यूनीकरणको उपाय अपनाएको छ । उसको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये ७० वर्षमाथिका व्यक्तिको मृत्युदर बढी छ । महिलाका तुलनामा पुरुष बढी छन् । पुरुषमा मृत्युदर २.८ र महिलामा १.७ प्रतिशत छ । यसअनुसार यो उमेर समूहका सङ्क्रमितको मृत्युदर ८ प्रतिशत छ । ६०–६९ वर्षका ३.६ प्रतिशत, ५०–५९ वर्षका १.३० प्रतिशत, ४०–४९ वर्षका ०.४० प्रतिशत, १०–३९ वर्षका ०.२० प्रतिशत र १–९ वर्षका शून्य प्रतिशत मृत्युदर छ ।
कोरोना भाइरस सङ्क्रमण भएका एक हजारमध्ये पाँचदेखि ४० को ज्यान जाने गरेको अनुसन्धानकर्ता बताउँछन् । बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार मृत्युदर दुई प्रतिशत वा त्योभन्दा कम हुन सक्छ । विभिन्न देशमा सङ्क्रमण पत्ता लगाउने, गणना गर्ने कुरामा एकरूपता नहुँदा मृत्युदर फरक देखिएको ब्रिटेनस्थित इम्पिरिकल कलेजको अनुसन्धानले देखाएको छ । चीनमै ४४ हजारभन्दा बढी सङ्क्रमणको विश्लेषणले वृद्ध मानिसको मृत्युदर १० गुणा बढी रहेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन र चीनद्वारा संयुक्त रूपमा गरिएको अध्ययन प्रतिवेदनअनुसार एक ५० वर्षीय पुरुषको मृत्युपछि उसको मुटु, कलेजो र फोक्सो थप परीक्षण गरिएको थियो । यी सबै अङ्ग कोरोनाको सङ्क्रमणले काम गर्न नसक्ने बनाएको थियो । फोक्सोमा निमोनिया र त्यहाँका सेल क्षतविक्षत भएको पाइएको थियो । मुटु, मधुमेह, क्यान्सर तथा अन्य क्रोनिक रोग लागेका व्यक्तिमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्ययनले देखाएको छ । अाजकाे गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।