0 COMMENTS

भक्तपुर, २२ माघ/सरकारले चीनको वुहानबाट फर्काउन लागेका नेपालीलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा राख्ने तयारी गरेको भन्दै स्थानीयवासीले प्राधिकरण कार्यालयको गेटमा बसेर विरोध गरेका छन् ।

स्थानीय बासिन्दा, नेकपा, नेपाली काँग्रेस, राप्रपा संयुक्तलगायतले मानवबस्तीको बीचमा कोरोना भाइरस सङ्क्रमित हुनसक्ने नेपालीलाई ल्याएर राख्न लागेको भन्दै विरोध गरेका हुन् । प्राधिकरणमा क्वारेन्टाइन बनाउनका लागि आउने टोलीलाई अनुगमनसमेत गर्न नदिने भन्दै गेटमै स्थानीय बासिन्दा र राजनीतिक दलका कार्यकर्ताले विरोध गरेका हुन् ।

स्थानीय बासिन्दाले आजै चाँगुनारायण नगरपालिकामा त्यसको विरोधमा ज्ञापनपत्रसमेत बुझाएका छन् । स्थानीय टोलीले भक्तपुरमा कुनै हालतमा क्वारेनटाइन राख्न नदिने भन्दै कालो झण्डासहित नगरपालिका पुगेर ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सेनाले स्थानीय बासिन्दाले यसको विरोध गर्दै ज्ञापनपत्र बुझाएको जानकारी दिँदै यसबारेमा माथिल्लो निकायमा जानकारी गराउने र आजै नगरपालिकाको कार्यपालिका बैठकमा छलफल गरी आधिकारिक निर्णय गर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरका अध्यक्ष वचन देउजाले चीनबाट फर्काउने नेपालीमा कोरोना भाइरस हुन्छ नै भन्ने नभएको र भए पनि सुरक्षित उपचार गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले मानवबस्तीका बीचमा भन्दा पनि बस्तीबाट टाढा र शिवपुरी जस्ता शान्त एवं हरियाली क्षेत्रमा राखेर परीक्षण एवं उपचार गर्न अझै प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवं वाग्मती प्रदेशका सांसद कृष्णलाल भँडेलले सरकारलाई अन्य क्षेत्रमा क्वारेन्टाइन राखेर चीनमा रहेका नेपालीको उपचार गर्न सुझाव दिँदै खरिपाटीमा कुनै हालतमा चीनबाट फर्काइएका नेपालीलाई राख्न नदिने बताउनुभयो । उहाँले यसमा पार्टीको विरोध रहेको बताउँदै मानवबस्ती बीचमा ल्याएर उपचार गर्दा यहाँका बासिन्दामा जोखिम बढ्ने भन्दै भक्तपुरमा कुनै हालतमा राख्न नदिने बताउनुभयो । काँग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं–१ भक्तपुरले चीनबाट फर्किएका नेपालीलाई खरिपाटीस्थित प्राधिकरणको तालीम केन्द्रमा नराख्न सरकारसँग आग्रह गरेको छ ।

क्षेत्रीय सभापति जीवन खत्रीको सभापतित्वमा बसेको बैठकले घना बस्ती, खानेपानीका मुहान, खोलानाला छेउ यस्तो घातक अनि सरुवा रोगको अनुसन्धानस्थल नबनाउन सरकारसँग आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।