काठमाडौँ, १६ माघ/ राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक जानु भई परम्परानुसार वसन्त श्रवण गर्नुभयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गर्नु भई प्रसाद ग्रहण गर्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गर्नुभयो । परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गर्नुभएको थियो ।
वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।