0 COMMENTS

काठमाडौँ ०५पुस०७६। प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुस ११ बाट सुरु गर्ने राजनीतिक समझदारी बनेको छ ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले शुक्रबार बोलाउनुभएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले ११ गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाव दिएका छन् । राजनीतिक परामर्शपछि ११ गते १ बजे बस्ने बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ११ गतेको बैठकले कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो । प्रतिनिधिसभा बैठकपछि नेम्वाङले भन्नुभयो, “पुस ११ गते बस्ने बैठकले प्रक्रिया प्रारम्भ गर्ने छ । प्रक्रिया अघि बढाइनुभन्दा अघि अन्य निर्णय हुने छन् ।”

असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि स्थान रिक्त छ । संसद्को पाँचौँ अधिवेशन शुक्रबार सुरु भएसँगै सभामुख चयनको विषयले प्राथमिकता पाएको हो । सभामुखको उम्मेदवारबारे राजनीतिक दलहरूबीच औपचारिक गृहकार्य भएको छैन ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ । हाल उपसभामुख नेकपाबाट डा. तुम्बाहाङ्फे हुनुहुन्छ । सभामुख आफैँ राख्ने रणनीतिमा नेकपा छ । यसर्थ कम्तीमा पनि कार्यतालिका सार्वजनिकसँगै उपसभामुखको राजीनामा हुने छ । सभामुखको उम्मेदवार भने सत्तारूढ दल नेकपाले टुङ्गो लगाएको छैन । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।