काठमाडौं,७ मंसिर २०७६, /यातायात व्यवस्था कार्यालयमा फर्जी सवारी चालक अनुमति पत्र (नक्कली लाइसेन्स) नवीकरण गर्न आउनेको संख्या बढ्न थालेको छ । कार्यालयमा दैनिक पाँचदेखि १० चालक नक्कली लाइसेन्स बोकेर आउने गरेको पाइएको छ ।
यसरी कार्यालयमा आउनेको नक्कली लाइसेन्स रद्द गरिएको कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले बताए ।
चालक अनुमतिपत्र नवीकरणका लागि आएका सेवाग्राहीका अभिलेख नदेखिएपछि रद्द गरिने प्रमुख चन्दले बताए । सेवाग्राहीले जानेर वा अञ्जानमा त्यस्तो चालक अनुमतिपत्र बनाएको उनले बताए ।
चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा अनुमतिपत्र सही हो होइन भनी छुट्याइने गरिएको छ । सूचीमा नभएका फर्जी चालक अनुमतिपत्र नवीकरण गर्न आउने शुरुमा फर्जी हो भनेर स्वीकार गर्न नचाहने उनले बताए ।
कार्यालयले अभिलेखमा नपाइएको भन्दै प्रहरीलाई खबर गर्ने भनेपछि उनीहरुले आफैँ रद्द गर्न निवेदन दिने गरेका छन् । उनले भने, ‘पहिले सक्कली हो भनेर दाबी गर्ने व्यक्ति पछि निवेदन दिन तयार हुन्छन् ।’
यातायात व्यवस्था विभागले सक्कली हो होइन बुझेर मात्रै नवीकरण गर्दै आएको छ । कार्यालयले त्यस बखत चालक अनुमतिपत्र परीक्षा हुँदाको बखत स्थलगत विवरण (चेक लिस्ट) का आधारमा चालक अनुमतिपत्र सही हो होइन छुट्याउने गरेको छ ।कार्यालयमा कतिपय अभिलेख व्यवस्थित नहुँदा भने समस्या आउने उनको भनाइ थियो ।