0 COMMENTS

वि.सं. २०७६ आश्विन २० गते सोमबार तदनुसार ई. सं. २०१९ अक्टोबर ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : नवरात्रअन्तर्गत सिद्धिरात्री भगवतीको पूजा आराधना गर्ने दिन, महानवमी, मन्वादि, बौद्धावतार, स्याक्वट्याक्व, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, आश्विन शुक्लपक्ष (कौलाथ्व) नवमी तिथि, दिउँसो ०३:०६ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराषाढा नक्षत्र, बेलुका ०८:४१ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, मध्यरात्रीपछि ०३:५७ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा कौलव करण दिउँसो ०३:०६ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि ०३:४३ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:५९ बजे, सूर्यास्त : साँझ ०५:४२ बजे, दिनमान : २९ घडी १८ पला (११ घण्टा ४३ मिनेट, रात्रीमान : ३० घडी ४२ पला (१२ घण्टा १७ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –कर्म क्षेत्रमा बलियो चन्द्रमा भएकाले विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्ने दिन छ । धार्मिक अनुष्ठान र मङ्गलमय कृत्य सम्पादन हुनसक्छन् । व्यापार/व्यवसायमा पनि लाभ नै हुने समय छ । गरेको प्रयास सार्थक बन्नेछ । अब नयाँ व्यवसाय वा रोजगारीका बारेमा चिन्तन गर्न सकिन्छ, कूनै दूरगामी प्रयोजनको योजना बन्ने समय हो । यस क्रममा जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आज कर्मसिद्धिको समय हो, जस्तै बाधाअड्चन र विघ्न पनि दूर गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –नवौं भावमा चन्द्रमा पुगेको छ । अब स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले पनि तपाईंको अनुभव र ज्ञानबाट लाभ पाउने समय छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आज आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । अभिभावक वा इष्टमित्रको शुभकामना प्राप्त हुनेछ । मातापिताको चाहना पूर्ण गर्ने दिन हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । प्रेमसम्बन्धमा समेत निरसता छ । बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दासमेत सचेतता अपनाउनु पर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ र दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आज छैटौं घरमा चन्द्रमा छ, रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । सरकारी कामबाट पनि फाइदा नै छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण सुदृढ बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । आध्यात्मिक भावनाको विकास हुनेछ । सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइने छ । साथीभाइ र मित्रबाट पनि विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । बन्दव्यापारमा राम्रो छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । मेवा, मिष्ठान्न र परिकार मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुने दिन छ । परिवारमा कलह, विवाद र झगडाको वातावरण सिर्जना हुनसक्छ । मित्र र सहयोगीले सहयोग गर्न सक्ने छैनन् । समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –मन चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । कुनै नयाँ काममा मन जानेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –व्ययस्थानमा चन्द्रमा रहे पनि शुभ ग्रहको प्रभावले सरकारी, प्रशासनिक वा अड्डाअदालतमा विचाराधीन रहेका विषयबाट लाभ लिन सकिने छ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । कृषिक्षेत्र र पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेम सम्बन्धमा आएको तिक्तता हटाउने प्रयास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । लामो दूरीको वा दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –लाभ भावमा रहेको चन्द्रमा भाग्यकारी देखिंदैन । जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ । व्यापारव्यवसायमा सामान्य छ । आर्थिक पक्षमा ठूलो फड्को मार्न सक्नुहुन्न । पारिवारिक जीवन सामान्य छ । समाजसेवा र अर्काका कामधन्दामा समय दिनुपर्ने हुन्छ । सरकारी वा प्रशासनिक कामधन्दामा मन्दगतिले प्रगति हुनेछ । सन्ततिका समस्या निराकरण गर्न समय र धन खर्च हुने सम्भावना छ । बौद्धिकता र दार्शनिकतामा झुकाव बढ्नेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।