0 COMMENTS

काठमाडौंअशोज १८, २०७६- यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराको प्रकरणले नयाँ मोड लिएको छ । पहिले यौन दुर्व्यवहार भएको आरोप लगाउन पीडित महिलाले भोलिपल्टै महरा बुबा समान भएको बताए पनि उनैले फेरि प्रहरी कहाँ उजुरी दिएकी छन् ।

प्रहरी एक अधिकारीका अनुसार पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन्।

पीडित महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएकी हुन् । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् ।स्रोतका अनुसार घटना भएको छैटौं दिन बानेश्वर प्रहरी वृत्तमा भएको लामो छलफलपछि उजुरी दर्ता भएको हो । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

यसअघि रोशनी र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया शरु गरेको समेत बताएका थिए । उच्च प्रहरी स्रोतले भन्यो, ‘‘रोशनी र उनका श्रीमान् दुवै आएर बिहीबार उजुरी दिएर गएका छन् । बिहीबार नै रोशनीको त्रिवि शिक्षण अस्पतालमा मेडिकल परीक्षण समेत गरिएको छ ।’’

महराविरुद्ध उजुरी परेपछि अब उनी पक्राउ पर्ने सम्भावना बढेको छ। आफूमाथि बलात्कार आरोप लागेपछि महराले सोमबार संघीय संसदको सभामुख पदबाट राजीनामा दिएका थिए । महराले आफू रोशनीको कोठामा नगएको दाबी गर्दै आएका छन् ।

महरामाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढेपछि शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आईजीपीसहितको बैठक बोलाएका थिए । नगर प्रहरीको कार्यालयमा भएको बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए ।

सोही बैठकमा गृहमन्त्री थापाले महरा प्रकरणबारेको रिपोर्टिङ प्रहरी अधिकारीहरुसँग मागेका थिए । बैठकमा सहभागी एक अधिकारीले भने, ‘‘गृहमन्त्रीज्यूले अनुसन्धान प्रक्रियामा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । निष्पक्ष अनुसन्धान गर्नुस्, कसैसँग डराउनु पर्दैन भन्नुभएको छ ।’’ गृहमन्त्री थापाले आफ्नो भाइलाई प्रहरीले पक्राउ गर्दासमेत दबाब नदिएको भन्दै निर्धक्क भएर अनुसन्धान गर्न निर्देशन दिएको बताइएको छ । बिहान बैठक भएको र दिउँसो रोशनी आफ्ना श्रीमान चित्रजंग शाहीसहित वृत्त नयाँ बानेश्वरमा पुगेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।