चितवन, ५ असोज /पत्रकार शालिकराम पुडासैनीको आत्मह*त्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ ।
आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार हालसम्म २० साक्षीको पत्र अदालतमा पठाइएकामा न्यायाधीश हेमन्त रावलको इजलासमा बकपत्र भइरहेको छ ।
मुलुकी अपराध संहिताअनुसार आत्मह*त्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ । साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।