0 COMMENTS

वि.सं. २०७६ भाद्र २९ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत द्वितीया श्राद्ध, पुञ्चली भूजा, बाल दिवस, आश्विन कृष्णपक्ष (ञलागा) प्रतिपदा तिथि, दिउँसो १०:४४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, उत्तराभाद्रा नक्षत्र, मध्यरात्रीपछि ०१:१८ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, बेलुका १०:५८ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा कौलव करण दिउँसो १०:४४ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपूर्व ११:३९ बजेसम्म, अन्तिममा गर करण, आनन्दादि योग : स्थिर, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४८ बजे, सूर्यास्त : साँझ ०६:०८ बजे, दिनमान : ३० घडी ५१ पला (१२ घण्टा २० मिनेट, रात्रीमान : २९ घडी ०९ पला (११ घण्टा ४० मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । घरायसी बन्दोबस्ती र बाध्यताका काममा खर्च गर्नुपर्ने दिन हो । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, धैर्यले काम लिने समय छ । बहस, तर्क र प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । लामो दूरीको लाभमूलक यात्रा हुनसक्छ । तर यात्राका क्रममा सरसामान हराउने वा झमेला बढ्ने समय छ, विवादका क्रममा आफूलाई संयम बनाउनु उपयोगी हुनेछ । व्यवसायिक जीवन यथावत रहने छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
लाभस्थानको चन्द्रमाका कारण सँगीसाथी र मददगारको सहयोग पाइने समय छ । घरायसी वातावरण पनि सन्तोषजनक रहने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । मान्यजन, मातापिता वा अभिभावकको सहानुभूति र आशीर्वाद पाउने दिन हो । कामदार र कर्मचारीलाई हाकिम वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा मित्र र सहयोगीको सहयोग र सुझाव प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज भाग्यभावमा चन्द्रमा उपस्थित भए पनि धेरै आशावादी बन्ने समय छैन । त्यसैले अल्छीपन र अकर्मण्यता त्यागेर कर्मक्षेत्रमा लागी पर्ने दिन हो । लापरबाही गरेमा नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, त्यस्तै मन कल्पना र भावनामा केन्द्रित भइदिनाले समयमा काम सिद्ध्याउन सकिंदैन । पढाइलेखाइ र चिन्तनमननको क्षेत्रमा उपलब्धी हासिल गर्न सकिनेछ । दोहोर्याएर प्रयत्न गर्दा वा केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ । धार्मिक अनुष्ठान वा मङ्गलमय कृत्य सम्पादन हुनसक्छ । व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । मनमा दम्भ र अहङ्कार हाबी हुने समय छ, बोलीमा नियन्त्रण गरेको जाति हुन्छ । प्रतिकूल समयले घेरेको छ, हरेक क्रियाकलापमा संयम रहनु बेस हुन्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । प्रत्येक काममा बाधाअड्चन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । सवारी साधन हाँक्दा वा बाटो काट्दा सचेतता अपनाउनु बेस हुनेछ । फलप्राप्तिप्रति बढी उत्साही हुने समय छैन, लेनदेनमा विवाद हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सप्तम भावमा रहेको चन्द्रमा र आफ्नै राशिमा रहेको शुक्रको प्रभावले आज रसरङ्गको चाहना पूर्ण हुने योग छ । विपरीतलिङ्गी मित्रसँग मनका कुरा राख्ने समय हो, गृहस्थीहरूले दाम्पत्यसुखमा रमाउने र भुलिने समय हो । हुन त बिहानीपख घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता हुनसक्छ, तर पछि उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिन/दिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ । तर पाचनतन्त्री वा मौसमी प्रतिकूलताका कारण शारीरिक अस्वस्थता देखिन सक्छ, सचेत हुनुपर्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पञ्चम भावमा चन्द्रमाको उपस्थिति छ, मन कल्पना र भावनामा रुमल्लिनाले गर्नैपर्ने काममा ढिलाइ हुनसक्छ, सचेत हुनुपर्छ । हुन त आज व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा काम गर्नेका लागि उत्कृष्ट दिन छ । खासगरी विद्यार्थीहरूका लागि बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता मिल्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले पुराना कुरा र घटनाका कारण दिनको सुरुवातमा केही तनाव हुनसक्छ, यद्यपि रामरमाइलोमा दिन बित्ने सङ्केत छ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्नु समुचित हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक सम्मान प्राप्त हुनेछ । कामधन्दामा सफलता हात लाग्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम र प्रसिद्धि कमाउने महत्त्वपूर्ण दिन हो, आजको दिन । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्ने छन् । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । कडा मिहिनेत र परिश्रम गरेमा हाँकेको ताकेको काममा सफलता प्राप्त भई छाड्छ । आत्मबल र हौसलामा कमी आउन दिनु हुँदैन । कार्यक्षेत्र वा बन्दव्यापारबाट भनेजस्तै लाभ हुनेछ । तर केही नकारात्मक फल पनि पाउन सक्नुहुन्छ, जस्तै बितेका कुरा कोट्याउनाले घरपरिवारमा विवाद हुनसक्छ । पुराना रोगव्याधि र समस्याले सताउने सम्भावना छ । पुरानो कारोबार र लेनदेनको व्यवस्थापनमा केही कमजोरी देखिनसक्छ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धनस्थानमा रहेको चन्द्रमाको प्रभावले मौखिक अभिव्यक्ति र कलात्मक क्षेत्रबाट महत्वपूर्ण उपलब्धी हासिल गर्ने समय हो । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । गृहिणीहरूले गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दै हुनुहुन्छ भने फाइदा नै हुनेछ । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुने समय छ । मिठो भोजनको अनुकूलता मिल्नेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । आफन्त र नातेदारले तपाईंको कार्यको सराहना र कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज आफ्नै राशिमा चन्द्रमाको उपस्थिति भएको छ, उता भाग्यभावमा राशिस्वामी बृहस्पति बसेको छ, त्यसैले मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारबाट पनि राम्रो लाभ लिन सकिने छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।