0 COMMENTS

वि.सं. २०७६ भाद्र २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, धनिष्ठा पञ्चक प्रारम्भ बिहान ०४ बजेर २४ मिनेटपछि, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) चतुर्दशी तिथि, (अहोरात्र व्याप्त), धनिष्ठा नक्षत्र, साँझ ०५:३६ बजेसम्म, त्यसपछि शतभिषा नक्षत्र, चन्द्रमा कुम्भ राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, बेलुका ०९:१७ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा गर करण साँझ ०५:४१ बजेसम्म, त्यसपछि वणिज करण, आनन्दादि योग : श्रीवत्स, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : पश्चिम, वारशूल : दक्षिण, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४७ बजे, सूर्यास्त : साँझ ०६:१२ बजे, दिनमान : ३१ घडी ०३ पला (१२ घण्टा २५ मिनेट, रात्रीमान : २८ घडी ५७ पला (११ घण्टा ३५ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज एकाबिहानै कर्मक्षेत्रको चन्द्रमा लाभ भावमा प्रवेश गरेको छ । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आम्दानीमा कमी आउने छैन । कर्मक्षेत्रमा सबल चन्द्रमाको उपस्थिति भएकाले आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । आज कर्मचारीले हाकिम खुसी पार्ने दिन हो, गरेका क्रियाकलापबाट प्रशंसा पाइने छ । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
भाग्यस्थानमा चन्द्रमाको उपस्थिति भएकाले धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन् । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । सामाजिक कार्यबाट जस पाइने दिन हो । आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । मान्यजनको आशीर्वाद पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न आजको दिन अनुकूल छ । गरेका काममा भाग्यले साथ दिनेछ, प्रयास गरेमा नचिताएको उपलब्धी हासिल हुने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानसिक बैचेनीले सताउन सक्छ । साथीभाइ टाढिन सक्छन् । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ वा कुनै गोपनीयता भङ्ग हुने खतरा देखिन्छ । त्यस्तै शरीरका भित्री अङ्गमा रोगव्याधिको प्रकोपसमेत रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्ण दिन हो, आजको दिन । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । एकाबिहानै प्रणय भावमा चन्द्रमाको प्रवेश भएको छ, अब प्रेमजीवन र प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । आत्मीयजनसँग रमाइलो पल व्यतीत गर्ने मौका पाइने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्ने दिन छ, रिसराग र घमण्डमाथि नियन्त्रण गरी व्यवहार गर्नु राम्रो हुन्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, तर मनले चाहेजस्तो परिणाम प्राप्त गर्न गाह्रो छ । मनोरञ्जनात्मक क्षेत्रमा समय र धन खर्च हुनसक्छ । बन्दव्यापारमा चुनौतीको सामना गर्नुपर्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज ज्ञानार्जनका क्षेत्रमा रहेकाहरूको राम्रो समय आएको छ । हुन त एकाबिहानै केही महत्वपूर्ण घरायसी समस्या हल गर्न प्रयास गर्नुपर्ने हुन्छ, तर यसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । कुनै दीर्घकालिक योजनालाई मूर्त बनाउन आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । भाइबहिनी र छोराछोरीका क्रियाकलापबाट सन्तुष्टि मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
चतुर्थ भावमा चन्द्रमाको प्रवेश भएको छ, तर राशिस्वामी मङ्गलसँग समसप्तक सम्बन्ध बनेकाले समय लाभदायक नै देखिन्छ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा बढोत्तरी हुनेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । यता घरैमा बस्नेले समेत सरलताको अनुभूति गर्नेछन् । काममा विविध चुनौतीको सामना गर्नु परे पनि सफलता हासिल हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्ने समय छ । तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ, काम फत्ते गर्न तदारुकता र मिहिनेतको खाँचो पर्नेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथीले राम्रो सहयोग गर्नेछन् । धार्मिक र सामाजिक काममा समय र धन लगानी गर्ने समय आएको छ । आकस्मिक रूपमा कुनै वस्तुको खरिद गर्दा अनायासै आर्थिक जोखिममा पर्न सकिन्छ, होस राख्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्तिसम्बद्ध समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । दीर्घकालिक लगानीका लागि उत्सुक हुनुहुन्छ भने आज राम्रो दिन छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्या हल गर्ने प्रयास हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजबाट तपाईंको राशिमा चन्द्रमाको प्रवेश भएको छ, अब हुन त मन चञ्चल हुनसक्छ, तर खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा मनमा उत्साह र उमङ्ग देखिए पनि आज चन्द्रमाले बाह्रौं घरमा प्रवेश गर्ने भएकाले आत्मबलमा कमी देखिन सक्छ, तर शरीरमा स्फूर्ति, उत्साह र उमङ्गलाई नत्याग्नु राम्रो हुन्छ । राशिपति बृहस्पतिको भाग्यस्थानको यात्रा भएकाले अत्तालिनु पर्दैन, छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन् । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । घरभित्रका समस्या हल गर्न आर्थिक व्ययभार बढ्नसक्ने सम्भावना देखिन्छ । दिन छिप्पिंदै जाँदा तनाव र चिडचिडेपन बढ्न सक्छ । रिसराग र प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।