काठकमान्डाैं / भारतीय गुप्तचर संस्था रअका पूर्वविशेष निर्देशक अमर भुषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न माओवादीभन्दा भारतलाई हतार थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मनाउन भुषणलाई निकै हम्मे परेको थियो । दाहाल भारतीय गुप्तचारसँग मिलेर गणतन्त्रको मिसनमा लाग्न इच्छुक थिएनन् ।
भूषणको पुस्तक ‘इन्साइड नेपाल’ मा दाहालसँगको पहिलो भेटमा आफूले भनेको यसरी व्यक्त गरेका छन्, ‘म वास्तवमा नेपालबाट राजा फ्याँक्ने काममा तपाईंको मद्दत माग्न आएको हुँ ।’ आश्चर्य मान्दै दाहाल सोध्छन्, ‘किन ?’
विभिन्न चरणको वार्तापछि रअ प्रचण्डलाई मनाउन तयार भएको पुस्तकमा उल्लेख छ । प्रचण्ड रअको मनसायप्रति शसंकित थिए । त्यसैले उनले वार्ताका क्रममा रअका पूर्वी ब्यूरो प्रमुख जीवनाथनसँग, ‘तपाईँले किन यति धेरै चासो दिइरहनु भएको छ कि हामी राजाको शासनमा रहन्छौँ या लोकतन्त्रमा जान चाहन्छौँ ?’ भनेका बताइएको छ ।
सन् १९९० मा भारतको अनुसन्धान तथा विश्लेषण संस्था रअले नेपालको सक्रिय राजतन्त्रलाई संवैधानिक बनाउन अभियान सुरु गर्यो संवैधानिक प्रजातन्त्रका लागि मार्ग प्रशस्त गर्न । यो कुराको खुलासा रअका पूर्व विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा गरेका हुन् ।
रअको जासुसी भिन्न विचारधारका राजनीतिक दललाई एक ठाउँमा ल्याउन मात्रै थिएन, आफ्नो पहुँच वा प्रभाव अति गोप्य रुपमा गर्नुमा थियो । जीवनाथनले सो क्रममा आफ्ना गोप्य एजेन्टहरु नियुक्त गरेका थिए । भुषणले आफ्नो पुस्तकमा प्रतिकात्मक नाम दिएका जीवनाथ जो रअको पूर्वी व्युरोका प्रमुख थिए, उनले राजा वीरेन्द्रको शासनकालभर एक विशेष युनिट सञ्चालन गरेको उल्लेख गरेका छन् ।
जीवनाथनले सो युनिट सन् १९८९–९० को बिचमा बनाएको जनाइएको छ ।
भारतको तत्कालीन राजीव गान्धी सरकारले नेपालमा भइरहेको जनआन्दोलनलाई सहयोग गर्ने निर्णय गर्यो । राजालाई दबाब दिन विभिन्न चरणमा भएका कूटनीतिक प्रयास असफल भएका थिए । त्यसपछि भारत सरकारले नेपालसँगको सीमा बन्द गर्यो र राजालाई प्रजातन्त्र स्थापित गर्न दबाब दिए ।
त्यसबिचमा राजाले चीनसँग सहयोगका लागि अपिल गरेका थिए । त्यो बिचमा रअका प्रमुख एके वर्माले जासुस जीवनाथनलाई नेपालमा विशेष अभियान चलाउन जिम्मा लगाएको भुषणको पुस्तकमा उल्लेख छ ।
रअको अभियानपछि धेरै नेपाली राजनीतिज्ञ जीवनाथलाई भेट्न गएको पुस्तकमा उल्लेख छ । तर उनी आफूले नियुक्त गरेका जासुसहरुलाई आफू अब सो नाममा अस्तित्वमा नरहेको भनेर गायब भएका थिए ।
सत्य घटनामा आधारित भने पनि पुस्तकका पात्र नाम परिवर्तित छन् । घटनार परिस्थित हेरेर भने तिनलाई अनुमान लगाउन सकिन्छ ।