0 COMMENTS

वि.सं. २०७६ भाद्र १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : मङ्गल चौथी व्रत, ऋषि पञ्चमी व्रत, सप्तर्षि पूजा, धर्मविनायक राष्ट्रिय रथयात्रा, कोखजाविय, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) चतुर्थी तिथि, बिहान ०६:५७ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, चित्रा नक्षत्र, दिउँसो १२:१८ बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, बिहान ०८:२७ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा विष्टि (भद्रा) करण बिहान ०६:५७ बजेसम्म, त्यसपछि बब करण साँझ ०५:५९ बजेसम्म, अन्तिममा बालब करण, आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : नैऋत्य, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४२ बजे, सूर्यास्त : साँझ ०६:२२ बजे, दिनमान : ३१ घडी ३९ पला (१२ घण्टा ४० मिनेट , रात्रीमान : २८ घडी २१ पला (११ घण्टा २० मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । घरायसी सुखका वस्तुको किनमेल हुनसक्छ । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । भावुकता बढ्ने समय हो, प्रेमी/प्रेमिकाको सामीप्यता बढ्ने छ, मनपर्ने साथीको उन्नतिको खबर सुन्नपाउनु हुनेछ । आफन्तका बीचमा आत्मीयता बढ्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ, तर सरकारी मुद्दामामिला वा प्रशासनिक झैझमेला छ भने धनखर्च गरेमा मात्र काम बन्ने समय हो । विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । तर्क, बहस र वादविवादमा जीत हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । उद्योगधन्दा, कलकारखाना र बन्दव्यापारमा खटेजति सफलता हासिल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता बढे पनि नयाँ कामधन्दाका लागि काम गर्ने वातावरण सिर्जना हुन्छ । आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । किशोरकिशोरीमा आज प्रेमिल भावना उदय हुनाले लक्ष्यप्रति भ्रमित रहने समय छ । भोगविलासप्रति आशक्ति बढ्न सक्छ वा कुनै तिर्सना जाग्नाले मन विरक्तिन सक्छ, सचेत रहनु होला । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । विद्यार्थीका लागि आज सकारात्मक दिन नै रहने छ, बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
चतुर्थ भावमा राशिपतिको प्रवेश भएको छ, मनमा शङ्का, चिन्ता, डर र त्रासको निवास हुने समय छ, विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनेछ । अल्छीपना र आलस्य जाग्नेछ । मनलाई पापमतिमा जान दिनु हुँदैन, नत्र आफैंलाई हानि पुग्ने समय छ । आपसी सम्बन्ध धूमिल हुने समय हो । परिवारजनमा असमझदारी बढ्नेछ । परिबन्द र बाध्यताका काममा सञ्चित धन उपयोग गर्नु पर्नेछ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । धन निवेश गर्नु ठिक छैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । बन्दव्यापार सामान्य रहने छ, गोपनीयता भङ्ग हुनाले हुन लागेको काम बिग्रन सक्छ, सचेत हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
समाजमा साख बनाउने उपयुक्त समय छ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । बन्दव्यापारका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित भइनेछ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । कुनै सामाजिक काममा धनलगानी गर्नुपर्ने परिस्थिति बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आर्थिक दृष्टिले राम्रो दिन छ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको कदर हुने दिन हो । तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । दिदीबहिनीको सहयोग पाइने छ । आर्थिक क्षेत्र सबल रहने छ भने स्वास्थ्यमा पनि सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुनसक्छ । भौतिक साधनको जोहो गर्ने र मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । बोलीका भरमा काम फत्ते गर्न सकिन्छ, त्यस्तै गीतसङ्गीत र साहित्यका क्षेत्रमा काम गर्नेले सम्मान पाउने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्त्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ । समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । पेसा र व्यवसायका विविध क्षेत्रमा सफलता पाइने छ । नयाँ कारोबार सुरु हुनेछ वा नयाँ मित्र बनाउन पाउनाले मन फुरुङ्ग पर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अहिलेको समय तपाईंको पक्षमा छैन । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ, अहिले सकेसम्म खर्चबर्चमा नियन्त्रण गरेकै जाति हुन्छ, तर धार्मिक र सामाजिक क्रियाकलापमा गरेको खर्चबाट भविष्य समुन्नत बन्ने देखिन्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ, प्रतिकूल समय चल्दैछ । यात्राको योग छ तर यात्राबाट फाइदा छैन । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । अपूरा कार्य पूर्ण हुनेछन् । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ, तर निरन्तर लागी परेमामात्र काम फत्ते हुने सङ्केत देखिन्छ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । बौद्धिक र प्राज्ञिक उन्नयनको प्रयास सफल हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवद्र्धक रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक सम्बन्ध सुदृढ हुनेछ । कर्मक्षेत्रमा व्यस्त रहनु पर्ने दिन छ । पठनपाठनमा समय दिन सकिंदैन । प्रतिस्पर्धामा विजयी भइने छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न सकिंदैन । पेसा/व्यवसायमा भनेजस्तै लाभ मिल्नेछ । आर्थिकपक्ष कमजोर छैन, कर्मसिद्धिको समय छ, जेगरे पनि फाइदा नै छ । मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय दिनुपर्ने छ । मान्यजनको सद्भाव मिल्नाले आत्मबल तथा प्रतिष्ठाबृद्धिमा सहयोग पुग्नेछ । दिन बितेको पत्तो पाइने छैन, साँझ श्रममूलक काम गर्नेहरूले अलि बढी थाकेको अनुभूति गर्नेछन्, पौष्टिक आहारामा ध्यान दिनु राम्रो हो । आफ्नो वा जीवनसाथीको कार्यक्षेत्रका समस्याहरू अन्त्य भएर जानेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मान्यजनको आशीर्वाद पाउनु हुनेछ । हाँकेताकेका र चिताएका काममा सफलता मिल्नेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । बन्दव्यापारबाट फाइदा हुनेछ । आज हाकिम वा मातापितासँग विवाद गरेमा भाग्यबल निष्क्रिय हुनसक्छ, होस राख्नुपर्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । स्वास्थ्यमा अचानक गडबडी आउनाले दैनिक कामकाजमा असर पर्नसक्छ वा गर्नैपर्ने कुनै काम रोकिन सक्छ । आज धननिवेश गर्नु र साक्षी/जमानी बस्नु हुँदैन । अनाहकमा अरुले गरेका गल्तीको सजाय पनि आफैले भोग्नु पर्ने हुन्छ । यात्राबाट फाइदा छैन, त्यसैले धेरै टाढा जानु हुँदैन, चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बोलीमा अङ्कुश लगाएको नै राम्रो हो, नत्र साथीभाइ टाढिन सक्छन् अनि बेकारको विवादमा फँस्न सकिन्छ । सोच नै उल्टो हुने भएकाले आज कुनै पनि नयाँ काम नथाल्नु होला । त्यस्तै आज सन्तानका चारित्रिक पक्षउपर मूल्याङ्कन र निरीक्षण गरेको राम्रो हो ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।