0 COMMENTS

सुरुंगा, भदौ १६ । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँचजनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् ।

पक्राउ परेका बराल बिर्तामोड नगरपालिका–८ का वडासचिव हुन् ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनले घटनामा संलग्न अन्य व्यक्तिलाईसमेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए ।

गैरकानुनीरूपमा गैरनेपालीलाई नागरिकता दिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी यसअघि नै छानबिन सुरु गरेको थियो ।

निलम्बनमा पर्ने कर्मचारीमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायबसुुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले ‘सेटिङ’मा गैरनेपालीलाई नागरिकता दिएको आरोप छ ।

गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथिसमेत छानबिन थालिएको बताइएको छ ।

प्रशासन स्रोतकाअनुसार वि.सं. २०७३ देखि २०७६ सम्ममा १६ गैरनेपालीलाई नागरिकता दिइएको छ ।

१६ गैरनेपालीलाई नागरिकता दिँदा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्रले सनाखत गराएका छन् भने नायबसुब्बा निरौलाले टिप्पणी पेस गराएको आरोप छ । त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेको बताइएको छ ।

यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा ९ जनाको बाबु एउटै कायम गरिएको छ ।

गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई जिम्मेवारी दिएको बताइएको छ ।

गैरनेपालीलाई नागरिकता दिँदा विभिन्न बिचौलियामार्फत् नक्कली जन्मस्थान कायम गराएको पनि पाइएको छ ।

नागरिकता वितरण गर्दा टेकबहादुर गुरुङ र रिना गुरुङलाई बुवा–आमा कायम गर्दै ९ जनालाई नागरिकता दिइएको पाइएको हो ।

टेकबहादुर र रिनालाई बुवा–आमा कायम गरेर नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ र लोब्सान गुरुङ छन् । उनीहरु सबैको ठेगाना झापा कायम गरिएको छ ।

यसैगरी, गैरकानुनीरूपमा नागरिकता पाउनेमा धाइजन–६, झापाका लाक्पा शेर्पा, सञ्जय अग्रवाल, अयुव आलम, ज्योति विश्वास दास, नवाङ डेचेङ तामाङलगायत छन् ।

गृह स्रोतकाअनुसार जिल्ला प्रशासन कार्यालय झापाले गैरकानुनीरूपमा २०७६ जेठ १२ मा तीनलाई, जेठ २० मा एकलाई र जेठ २१ मा तीनजनालाई नागरिकता वितरण गरेको छ । यसैगरी, २०७६ जेठ ६ मा चारलाई नागरिकता दिइएको छ ।

यसअघि, २०७३ माघ १० गते तीनजनालाई गैरकानुनीरूपमा नागरिकता दिइएको स्रोतले जानकारी दिएको छ ।

वि.सं. २०७३ मा गैरकानुनीरूपमा नागरिकता वितरण गर्ने तत्कालीन प्रशासकीय अधिकृत चूडाराज भट्टराईमाथिसमेत छानबिन थालिएको छ भने तत्कालीन शरणामती गाविसका सन्चालक समितिका अध्यक्ष भवकृष्ण न्यौपाने पनि छानबिनको घेरामा परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।