0 COMMENTS

वि.सं. २०७६ भाद्र १६ गते सोमबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : हरितालिका तीज व्रत, तीज व्रत, गणेश चतुर्थी व्रत, मन्वादि, चन्द्रदर्शन दोष, राष्ट्रिय धर्मसभा दिवस, चथा,आजको मूहुर्त : अन्नप्राशन(पास्नी), भाद्रपद शुक्लपक्ष (ञलाथ्व) तृतीया तिथि, बिहान ०९:०७ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, हस्ता नक्षत्र, दिउँसो ०१:३९ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा, मध्यरात्रीपछि १२:५७ बजेसम्म, त्यसपछि तुला राशिमा, शुभ योग, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा गर करण बिहान ०९:०७ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:०२ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४२ बजे , सूर्यास्त : साँझ ०६:२३ बजे, दिनमान : ३१ घडी ४३ पला (१२ घण्टा ४१ मिनेट, रात्रीमान : २८ घडी १७ पला (११ घण्टा १९ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । तर्कवितर्क, चिन्तन आदिका क्षेत्रमा उल्लेखनीय लाभ हुनेछ । आफन्तले तपाईंका विचार र तर्कको सराहना गर्नेछन् । स्वास्थ्य सबल रहने छ, दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन गएको पत्तो पाउनुहुन्न । आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । प्रेमी/प्रेमिका वा जीवनसाथीसितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । खानपान र मेजमानीको अनुकूलता प्राप्त हुनसक्छ, तर चतुर्थेश चन्द्रमा षष्ठ भावमा रहेकाले आमा वा घरकी बृद्धस्त्रीको स्वास्थ्यगत समस्या देखिन सक्छ, सचेत हुनु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बुद्धि र दिमाग खियाउनेहरूका लागि आजको दिन महत्त्वपूर्ण हुनसक्छ । चिन्तन र उपायले काम गर्नेछ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आत्मीयजनको सामीप्यता प्राप्त हुनेछ, मन फुरुङ्ग हुने र मनोरञ्जन गर्ने अवसर जुर्नेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । छात्रछात्राले राम्रो परिणाम निकाल्ने समय हो, पठनपाठनमा प्रगति हुनेछ । ज्ञानगुनका क्षेत्रमा सक्रिय भइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज चतुर्थ भावमा धनेश चन्द्रमाको उपस्थिति रहेकाले अचानक सञ्चित धन खर्च गर्ने परिस्थिति बन्नसक्छ । घरगृहस्थीका झिनामसिना काममा धेरै बेरसम्म खट्नुपर्ने अवस्था आउने छ । आफन्त वा साथीभाइका क्रियाकलाप देखेर दिक्क मान्न सकिन्छ । कुनै किसिमको वादविवाद हानिकारक बन्ने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध वा रागात्मक मनोभावनाका कारणसमेत निराशा हुनेछ । भाइबहिनी र सन्तानपक्षका समस्या र क्रियाकलापसमेत चित्त बुझ्दो हुँदैन । लहडीपन र खेलवाडले बेफाइदा हुनेछ । परदेशमा बस्ने वा वैदेशिक रोजगारी गर्नेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । जेजस्तो भए पनि आज आमाको आशीर्वादले काम गर्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राशिपति चन्द्रमाको पराक्रम भावमा उपस्थिति भएकाले आज पराक्रम र प्रसिद्धि आर्जन गर्न सकिने स्वर्णिम समय हो । अल्छी गरेर वा चुप लागेर बस्नु ठिक हुँदैन । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्नेछ । चेलीबेटी वा कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूसित सुमधुर सम्बन्ध कायम हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धन स्थानमा रहेको चन्द्रमा तपाईंको बाह्रौं भावको मालिक हो, हुन त आज जेथो जोड्ने दिन हो, दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ । तर अनावश्यक व्ययभारमा नियन्त्रण गरेको राम्रो हुन्छ । कामको दायित्व र चाप बढ्ने समय छ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । मानप्रतिष्ठा र ख्यातिमा आघात पुग्ने काम गर्नु हुँदैन । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, जस नपाए पनि छरछिमेकी, कुटुम्ब वा नातागोताको काममा संलग्न हुनुपर्ने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राज्यस्थानको मालिक चन्द्रमाको आफ्नै राशिमा उपस्थिति भएकाले आज कुनै महत्त्वपूर्ण सरकारी कामका माध्यमबाट फाइदा बटुल्ने दिन हो । कुनै परीक्षा वा प्रतिस्पर्द्धाको तैयारीमा हुनुहुन्छ भने सफलता तपाईंको हातमा आइपुग्नेछ । साथीभाइ र परिवारका सदस्यहरूले सहयोग गर्नेछन् । बन्दव्यापार र व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । तर मनमा कताकता दोधारको स्थिति भने आउनसक्छ । कार्यक्षेत्रका दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुनसक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च बृद्धि हुने समय चल्दैछ । बाह्रौं भावको चन्द्रमाका कारण काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । उता शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ । घरबाहिर जानुपर्ने बाध्यता सिर्जना हुनसक्छ, स्वास्थ्यमा पनि अनुकूलता देखिंदैन, आहारविहारमा समुचित ध्यान दिनु उचित हुनेछ । यात्राका क्रममा झमेला आउनसक्छ, सानातिना सरसामान छुट्ने वा हराउने खतरा छ । मनमा घरिघरि नकारात्मक भावना उब्जिनाले चिन्ता र शङ्का बढ्न सक्छन्, तर ध्यान दिनुहोला, आफ्नै कमजोरीले पछि पर्न सकिन्छ, त्यसैले आत्मबल, हिम्मत र संयमताका साथमा लक्ष्यप्रति लगनशील बन्नु जायज हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मबल बढ्ने छ । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले समेत सहयोग गर्नाले सन्तुष्टि मिल्नेछ । नाम, दाम र प्रतिष्ठाका लागि प्रयास गरिने छन् । सुखसुविधा र विलासिताका लागि समय र धनको जोहो हुनसक्छ । बन्दव्यापार, पेसा र रोजगारीका क्षेत्रबाट फाइदा लिन सकिने छ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने र लाभ लिन सकिने समय छ । लाभदायक यात्राको सम्भावनालाई पनि नकार्न सकिंदैन । आज जुनसुकै काम गर्दा मान्यजन र गुरुको आशीर्वचन प्राप्त गरेको जाति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पितृस्थानमा रहेको चन्द्रमाका कारण वंश, कुल र पितृपक्षका विषयमा घोत्लिन मन लाग्नेछ । हाकिम वा अभिभावकका विचारले प्रभावित तुल्याउन सक्छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । साथीभाइसित भेटघाट हुने योग छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । कर्मक्षेत्रमा मिहिनेतका साथमा खट्ने समय छ । आम्दानीको बाटो सहज छ । बन्दव्यापार र कारोबारबाट राम्रो प्रतिफल आउने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक सम्बन्ध सामान्य ढंगले अघि बढ्ने छ । मायाप्रीति र रसरङ्गमा आकर्षण देखिंदैन । एकोहोरो मनोभावको उदय हुने र व्यवहारमा काँचोपन देखिने डर छ, होस राखेर काम गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज भाग्य निर्माणको समय छ । सहयोगको आशामा रहेका व्यक्ति वा असहाय र बृद्धबृद्धाको सहयोग गर्नाले भाग्य अभिबृद्धिमा सघाउ पुग्नेछ । पुराना साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । प्रतिभाको कदर हुनेछ । नयाँ ज्ञान प्राप्त हुने समय छ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । ठूलाबडाको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकारी समय हो, प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । विपरीतलिङ्गी मित्रबाट प्राप्त सुझावलाई पालना गरेमा भविष्यको ढोकाको चुकुल खोल्न सकिने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा आजको समय व्यतीत हुनेछ । आठौं घरमा रोगभावको मालिक मानिने चन्द्रमाको उपस्थिति छ, खासगरी कामबाट फुर्सद पाउने समय देखिंदैन । आज दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । केवल मिहिनेत र लगनशील हुनु आवश्यक छ, कर्म गरेमा धन, धर्म र भाग्यबल स्थापना गर्ने राम्रो मौका छ । छात्रछात्राले चाहेको उपलब्धी प्राप्त गर्न सक्नेछन्, तर प्रणय र प्रेमप्रसङ्गमा भुलिनु राम्रो हुँदैन । स्वास्थ्य पक्ष कमजोर देखिन्छ, खानपानमा नियमितता प्रदान गर्नु बुद्धिमानी हुनेछ । तुजुक देखाउने काममा बन्देज लगाउनु पर्छ, बाटो काट्दा र हातहतियारको प्रयोग गर्दा होस गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन, तर स्वास्थ्यस्थिति र आर्थिक पक्ष बलियो भएर आएको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । उमङ्ग र स्फूर्तिका कारण शरीर हलुको र फुरुङ्ग हुनेछ । जीवनसाथी वा विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने वातावरण बन्नेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पञ्चमेश सप्तम भावमा रहेकाले पुराना प्रेमीप्रेमिकाको अचानक मिलन हुनसक्ने दिन हो, पूर्वजीवनका गोपनीय विषय बाहिर आउने परिस्थिति बन्नसक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।