0 COMMENTS

वि.सं. २०७६ भाद्र १४ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट ३१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, गुँलाधर्म समाप्ति, त्रिपुष्कर योग बेलुका ०४ बजेर ५१ मिनेटदेखि, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) प्रतिपदा तिथि, दिउँसो ०१:५४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, पूर्वाफाल्गुनी नक्षत्र, साँझ ०४:५१ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, बेलुका १०:२६ बजेसम्म, त्यसपछि कन्या राशिमा, सिद्धि योग, साँझ ०५:१९ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा बब करण दिउँसो ०१:५४ बजेसम्म, त्यसपछि बालब करण मध्यरात्रीपछि १२:३९ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : लुम्बक, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४१ बजे, सूर्यास्त : साँझ ०६:२५ बजे, दिनमान : ३१ घडी ५१ पला (१२ घण्टा ४५ मिनेट, रात्रीमान : २८ घडी ०९ पला (११ घण्टा १५ मिनेट)

आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा पानी खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : दर खाने दिन, त्रिपुष्कर योग बिहान ११ बजेर २८ मिनेटसम्म, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मुखमा सरस्वतीको बास छ, त्यसैले आज ज्ञान र सिप बाँडेर जस लिने समय हो । साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । हितैषी र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । बन्दव्यापार र व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् । भावनामा मन रुमल्लिने समय छ, पत्नी वा प्रेमिकासँगको सम्बन्ध सुदृढ बन्नेछ । आज छात्रछात्राका लागि विशेष दिन हो, शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चन्द्रमा अशुभ गृहमा भए पनि अन्य ग्रहहरूको शुभ प्रभाव रहेकाले डराई हाल्नुपर्न समय छैन । मान्यजन, हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँगको छलफलबाट लाभ हुने सम्भावना छ । घरायसी वातावरणमा सुधार आउने छ । मनमा उत्साह र हौसला प्राप्त हुनेछ । मानसिक रूपमा सबल भइने छ । मित्रवर्ग, साथीभाइ र सहयोगीहरूले भरपूर सहयोग गर्नेछन् । आज आफ्ना लक्ष्य र योजनाका बारेमा खुलेर छलफल गरेमा सही मार्गदर्शन हुनसक्छ । तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । विद्यार्थीहरूले नयाँ र रचनात्मक काम सुरु गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्शनिक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारमा संलग्नहरूले फाइदा बटुल्ने दिन हो, निर्धक्कसँग लगानी गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्ने समय छ । बोलीमा पूर्ण प्रभाव छ, तर्कवितर्क र बहसमा विजय प्राप्त हुनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । मिष्ठान्न भोजन मिल्नेछ । आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् अथवा आफैंले चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ, अप्रत्यासित लाभ हुनेछ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । छात्रछात्राले मौखिक अभिव्यक्तिका माध्यमले प्रतिष्ठा कमाउने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । जोस र जाँगर पलाउने छ, मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । नयाँ कामको लागि नयाँ अवसर आउछ ।ने निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । आफ्नै राशिमा राशिपति सूर्यका साथमा चन्द्रमाको उपस्थिति रहेकाले हाँकेका र ताकेका काममा सफलता मिल्ने दिन छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना भएकाले गोपनीयता अपनाएमा मात्र कुनै काम सम्पादन गर्न सहज हुनेछ । छरछिमेकमा परेको अप्ठ्यारो र असजिलो फुकाउन समय र धन लगानी गर्नु पर्ने हुनसक्छ । परोपकार र दानपुण्यका कार्यबाट लाभ लिन सकिने छ । बन्दव्यापारमा नराम्रो छैन, तर आज कमाएको धन सञ्चय गर्न सकिंदैन । छिटो काम सम्पादन हुने समय होइन, तर पनि काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्ने परिस्थिति छैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ । सरकारी वा राज्यपक्षका अप्ठ्यारा सुल्झाउने महत्त्वपूर्ण अवसर मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । आज ठूलाबडा र विशिष्ट व्यक्तिको सहयोग लिने दिन हो, कर्मचारीले हाकिम, गृहिणीहरूले मातापिता वा मान्यजन र छात्रछात्राले गुरुवर्गबाट विशेष सहयोग जुटाउन सक्नेछन् । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ । पुराना प्रेमी वा प्रेमिकासँग अचानक भेट हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आठौं चन्द्रमाका बाबजुद राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमङ्ग देखापर्ने छ, शरीर स्वस्थ रहने छ । चोटपटकको सम्भावना छ, तर डराउनु पर्दैन । गोप्य योजना सफल हुन्छन् र लामो समयदेखिको उल्झन सुल्झाउने अवसर मिल्नेछ । बोलीको कदर हुनेछ । प्रतिकूल एवं विपरीत परिस्थिति भए पनि सचेतता अपनाउनाले कुनै महत्त्वपूर्ण काम निप्ट्याउने अवसर प्राप्त हुनेछ । घरायसी वातावरण आफ्नो अनुकूल हुनेछ । प्रेमप्रसङ्ग र प्रणयलीलाका लागि राम्रो समय छैन । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । महत्वपूर्ण काम गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । स्वास्थ्यस्थितिप्रति सचेत हुनुहोला, भित्री अङ्गमा रोगव्याधि देखिन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । आत्मीय मित्र वा नजिकको मान्छेसँग एकान्तमा रमाउन पाउने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुने समय छ, तर प्रतिस्पर्द्धी र शत्रु हाबी हुने दिन भएकाले जुनसुकै काममा सचेततापूर्वक लागी पर्नु उचित हुनेछ । हुन त शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।