0 COMMENTS

वि.सं. २०७६ भाद्र १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट ३० तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, कुसे औंसी, गोकर्ण स्नान, मन्वादि, बाबुको मुख हेर्ने दिन, हलो तथा निशि बार्ने दिन, युवाकवि मोतीराम भट्ट जयन्ती, भाद्रपद कृष्णपक्ष (गुँलागा) अमावस्या तिथि, दिउँसो ०४:१९ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, मघा नक्षत्र, साँझ ०६:३१ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र,चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), शिव योग, बेलुका ०८:२२ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा नाग करण दिउँसो ०४:१९ बजेसम्म, त्यसपछि किंस्तुघ्न करण मध्यरात्रीपछि ०३:०५ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : काण, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:४१ बजे, सूर्यास्त : साँझ ०६:२७ बजे, दिनमान : ३१ घडी ५५ पला (१२ घण्टा ४६ मिनेट, रात्रीमान : २८ घडी ०५ पला (११ घण्टा १४ मिनेट)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
विचारको कदर हुनेछ । ताकेका काम बन्नेछन् । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइ र बन्धुबान्धवले आवश्यक सहयोग गर्नेछन् । खानपान र मनोरञ्जनका लागि राम्रै दिन छ । बन्दव्यापार र पेसागत जीवनमा समेत राम्रो छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । कल्पना, भावना र प्रेममय वातावरणको सिर्जना हुनेछ । पारिवारिक जीवनमा सुमधुरता प्राप्ति हुनेछ । आज बौद्धिक र सिर्जनाका क्षेत्रमा लागेकाहरूको दिन हो, खासगरी छात्रछात्राले लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढाउने समय छ । प्रायः सबैले प्राज्ञिक, बौद्धिक र दार्शनिक गतिविधिमा सफलता प्राप्त गर्ने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चौथो भावमा रहेको चन्द्रमाको प्रभावले व्यक्तिगत वा पारिवारिक स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । तर डराई हाल्ने परिस्थिति छैन, धैर्यले काम लिने समय छ । घरगृहस्थी र पारिवारिक रमझममा समय व्यतीत हुनेछ । वैदेशिक रोजगारी गर्ने र प्रवास वा परदेशमा रहनेहरूले घरायसी कुरा सम्झेर दिन बिताउने छन् । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा राम्रो छ, आकस्मिक रूपमा धनप्राप्तिको सम्भावनासमेत देखिन्छ । कसैबाट अप्रत्यासित सहयोग प्राप्त हुने सङ्केत पनि छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । पति/पत्नी र प्रेमी/प्रेमिकाका बीचमा निकटता बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यावहारिक र सामाजिक जिम्मेबारी थपिने दिन छ । आज पराक्रम स्थानमा रहेको चन्द्रमाको प्रभावले उत्साह आम्दानी बढ्ने समय हो । मन दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भाइबहिनी वा बन्धुबान्धवका क्रियाकलापले हर्षित बनाउने छ । बन्दव्यापार र क्रयविक्रयबाट लाभ मिल्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रतिस्पर्धामा सफल भइने छ, प्रतिस्पर्धी परास्त हुनेछन् । परिश्रम र पराक्रम गरेबमोजिम समाजमा सम्मान र साख बढाउन सकिने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दोस्रो भावमा रहेको चन्द्रमाको मध्यम फल प्राप्त हुने दिन छ, आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, त्यसैले सचेत रहनुपर्छ । कृषि, पशुपालन र झिनामसिना घरायसी काममा समय दिनु पर्ने हुन्छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन र श्रमको समुचित मूल्याङ्कन नहुनाले दिक्क लाग्नेछ । पढाइलेखाइमा समय दिन सकिंदैन । बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको सुझाव प्राप्त गर्नु बेस हो । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तपाईंको राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध र शुक्र गरी पाँच वटा ग्रहको युतिसम्बन्ध देखिन्छ, मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ तर पनि आज नयाँ योजना कार्यान्वयन गर्ने दिन हो । शरीरमा उत्साह, उमङ्ग र स्फूर्ति प्राप्त हुनेछ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न आजको दिन अनुकूल छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । बन्दव्यापारका अन्य क्षेत्रमा समेत लाभ मिल्नेछ । हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जिम्मेबारी वहन गर्नु पर्नेछ, आलस्य त्यागेर उत्साहपूर्वक काम गर्ने दिन हो, आज । चन्द्रमा द्वादश भावमा रहेको हुँदा खर्च बृद्धि हुने समय छ, तर समुचित स्थानमा धनव्यय हुनेछ । सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ र रामरमाइलो तथा मनोरञ्जनात्मक क्षेत्रमा धनलगानी हुनसक्छ । मातापिता र अभिभावक वर्गको इच्छाबमोजिम धार्मिक वा सांस्कृतिक क्षेत्रको भ्रमण हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ । दुरदराजमा रहेका आफन्तजनसँग भेटघाट र सम्बन्ध कायम हुने दिन हो । श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा समय दिन सकिंदैन । बाध्यात्मक काममा खर्चको मात्रा बढ्ने समय छ, तर पनि आम्दानीको मार्गमा बाधा हुने परिस्थिति छैन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कर्मसिद्धिको समय आएको छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । लाभस्थानमा उपस्थित विभिन्न ग्रहहरूको प्रभावले रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । श्रमको उचित मूल्याङ्कन होला । समय उत्साहवर्द्धक रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मान्यजन वा अभिभावकका इच्छापूर्तिका लागि समय निकालेमा कर्मसिद्धि हुनाले व्यवसायमा प्रगति हुने समय छ । व्यवसायिक यात्राका लागि उचित समयको योग छ । आफ्नो काममा तल्लीन हुनुपर्ने छ, दिन बितेको पत्तो पाइने छैन । कर्मक्षेत्रमा पञ्चग्रहको युतिसम्बन्ध रहेकाले मनमा दोधार हुने तथा काम गर्दा विविध दुविधा उत्पन्न हुने समय छ, त्यसैले जुनसुकै काम गर्दा आज जान्नेबुझ्ने वा अनुभवीको राय लिनु असल हुन्छ । ग्रहहरूको भूमिका सबल रहेकाले नोकरी, बन्दव्यापार वा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । ठूलाबडा र प्रतिष्ठित व्यक्तित्वका साथमा अति सुमधुर सम्बन्ध कायम हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
भाग्यमा चन्द्रमा छ, तर धेरै आशावादी हुने दिन छैन । सानातिना काम र घरेलु समस्यामै अल्झिएर आजको दिन बिताउनु पर्ने देखिन्छ । आर्थिक सङ्कटको परिस्थिति पनि बन्नसक्छ, कुनै महत्त्वपूर्ण योजना स्थगित हुनसक्छ । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ तर मुख्य काममा अवरोध आउने दिन छैन, बरु सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । यद्यपि आँट र हिम्मतका साथमा अघि बढेमा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा एउटै कामबाट दोहोरो फाइदा मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । विशेष योजनाहरू कार्यान्वयन गर्नसकिने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आठौं घरमा चन्द्रमा रहेको छ, आज बढी खर्च र यात्रा दुवै हुनसक्छ, तर आर्थिक रूपमा टेवा नै पुग्ने समय देखिन्छ । स्वास्थ्यमा सानातिना समस्या देखिए पनि यसले तपाईको काममा असर पुर्याउने छैन । गुप्त योजना कार्यान्वयन हुनसक्छन् । घरपरिवारमा सामान्य छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । परदेशको बसाइमा हुनुहुन्छ भने आकस्मिक लाभ पाउने सम्भावना पनि छ । यद्यपि तपाईंले जुनसुकै काम गर्दा गोपनीय राख्नु बुद्धिमानी हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज भावनाप्रधान दिन हो । प्रणयसम्बन्ध र रतिरागका लागि समय निकाल्न सकिने छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनसक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । व्यावसायिक यात्राको सम्भावना पनि छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ साथी वा साझेदार बनाउन पाइने छ । आज छात्रछात्राले नयाँ ज्ञान सिक्ने मौका छ, कुनै प्रतिष्ठित काममा सफलता मिल्नाले पुरस्कार पाउन सकिने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छैटौं भावमा चन्द्रमा लगायत पाँचवटा ग्रहहरूको उपस्थिति रहेको राम्रो दिन छ । यो समय तर्क, बहस र वादविवादमा संलग्न हुनुपर्ने समय हो । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ ।विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ । कुनै कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख हुनु राम्रो हुन्छ । आफन्त, मित्रवर्ग, सहयोगीहरू तपाईंको साथमा हुनेछन् । स्वास्थ्यस्थितिमा देखिएका समस्या समाधान हुनेछन् ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।