सत्तारुढ नेकपाभित्र यसैसाता भएका दुई बैठकका निर्णयले विवाद चुलिएको छ । वरिष्ठ नेता माधव नेपाल आफूलाई ‘कर्नर’ मा पार्न अन्य सबै नेताले गठजोड गरेको निष्कर्ष निकाल्दै झनै चिढिएका छन् । एकताको काम सक्दा नसक्दै विशेषगरी पूर्वएमाले समूहमा विवादको खाडल गहिरिएको छ ।
शुक्रबारको बैठकले विधानमै नभएको ‘उपाध्यक्ष’ पद सिर्जना गर्दै त्यसमा वामदेव गौतमलाई लैजाने निर्णय गर्यो । आइतबारको बैठकले वरिष्ठ नेताहरुको वरियता हेरफेर गर्दै नेता नेपाललाई घटुवा र झलनाथ खनाललाई बढुवा गर्यो ।
सचिवालय बैठकमा एउटा कर्नरमा परेजस्तो देखिए पनि पूर्वएमालेमा रहँदाको उनको पृष्ठभूमि हेर्दा कमजोर चाहिँ छैनन् । स्थायी समितिमा नेपालको पक्षमा रहेका नेताहरु ओली वा दाहालको समूहमा ढल्किएका छैनन् । केन्द्रीय समितिमा धेरै नेता नेपाल पक्षका छन् ।
‘विगतको शक्ति सन्तुलन कमजोर भयो भन्ने सोचिएको छ भने त्यो होइन, बरु झन दह्रो भएको छ,’ नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले भने । –कान्तिपुर दैनिकबाट