0 COMMENTS

वि.सं. २०७६ श्रावण २२ गते बुधबार तदनुसार ई. सं. २०१९ अगस्ट ०७ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : गोस्वामी तुलसी दास जयन्ती, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), श्रावण शुक्लपक्ष (गुँलाथ्व) सप्तमी तिथि, दिउँसो ०४:४८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, स्वाती नक्षत्र, मध्यरात्रीपछि ०३:१२ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त), शुभ योग, बेलुका ०९:१० बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा गर करण बिहान ०५:४६ बजेसम्म, त्यसपछि वणिज करण दिउँसो ०४:४८ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, आनन्दादि योग : धूम्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : वायव्य, वारशूल : उत्तर,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १२:०९ देखि ०१:४९ सम्म, यमघण्ट : बिहान ०७:०९ देखि ०८:४९ सम्म, गुलिक काल : बिहान १०:२९ देखि १२:०९ सम्म, काल वारवेला : बिहान ०८:४९ देखि १०:२९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०५:२९ देखि ०७:०९ सम्म र साँझ ०५:०८ देखि ०८:०८ सम्म, आज पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । भोलिको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, नेवारी पर्व यँलपञ्चदान पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । विद्यार्थीहरूले सामूहिक कामका माध्यमबाट ज्ञानार्जन गर्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । तर्क, बहस र वादविवादमा समय बित्न सक्छ । प्रतिस्पर्द्धात्मक क्रियाकलापका माध्यमबाट छात्रछात्राले लाभ लिनसक्ने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । खासगरी विद्यार्थीहरूमा बौद्धिक क्षमताको प्रस्फुटन हुनाले कुनै नयाँ विषयवस्तुमा सृजनात्मक सफलता मिल्ने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हुनेछ, आज मित्र, सहयोगी र नातागोताको साथ पाइने समय देखिंदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । नयाँ मान्छेको झट्टै विश्वास नगर्दा राम्रो हुनेछ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । किशोर/किशोरीमा चिडचिडेपन र झर्कोफर्को देखिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन्, सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो खाँचो टार्न सकिने समय छ । आवश्यकता पूरा हुनेछन् । साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । पहिले दिएको वचन पूरा गर्न खट्नु पर्ने दिन छ । परिस्थिति र समयले नचिताएको सफलता प्राप्त गर्न सघाउ पुर्याउने छ । प्रशस्त धनार्जन गर्ने अवसर आउने छ र परोपकारी काममा धन लगानी हुने सम्भावना छ । मुद्दामामिला र सरकारी काममा फाइदा लिन सकिने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक जीवनमा हर्षको वातावरण सिर्जना हुनेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने समय छ । दोस्रो भावमा चन्द्रमा रहेकाले बोलीमा मिठास आउने छ र मिठो भोजनको अनुकूलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफ्नै राशिमा चन्द्रमा छ, मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । प्रशंसा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारबाट पनि राम्रो लाभ लिन सकिने छ । मन फुरुङ्ग हुनाले छात्रछात्राले नयाँ ज्ञान प्राप्त गर्ने अनुकूलता मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छरछिमेकमा वा आत्मीय मित्रसँग केही असमझदारी बढ्नसक्छ, सचेत हुनुपर्छ, तर खास हानि पुग्दैन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्राको योग छ, तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवादका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । झैझगडाबाट टाढा रहने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा वैराग्यको भावना पलाउन सक्छ । शत्रुहरूको चलखेल बढ्नाले चिन्ता बढ्न सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी/प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिनाले मनमा उमङ्ग र उत्साहको कमी हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा सामान्यतया राम्रै हुन्छ । प्रशासनिक र राज्यपक्षको झमेलाभन्दा टाढा बसेको जाति हुन्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापबाट बेफाइदा हुँदैन, तर प्रतिस्पर्द्धा र प्रतियोगिता भिड्दै हुनुहुन्छ भने अलि बढी मिहिनेत गर्नुपर्छ, नत्र लाभ लिन सकिने छैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कर्मक्षेत्रमा चन्द्रमा रहेको छ, मान्यजन, हाकिम वा विशिष्ट व्यक्तिको सहयोग लिन/दिन सकिन्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्दव्यापारमा प्रशस्त फाइदा हुने समय छ । काममा मातापिताको सहयोग र सुझाव प्राप्त गरेमा प्रतिष्ठित काम गर्ने वातावरण तैयार हुनेछ । आज काम गर्ने दिन हो, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक समस्याहरू हल हुनेछन् । आँटेका कामहरू पनि सजिलै बन्नेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । भाग्यस्थानमा चन्द्रमा छ, जुनसुकै काम गर्दा लगनशील बन्नुपर्छ, एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आँटेका काम पनि सजिलै बन्नेछन् । भाग्योन्नतिको समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आज झिनामसिना समस्याको सामना गर्दै सफलता प्राप्त हुने दिन हो, तर आज मन, बुद्धि र अहङ्कारमाथि नियन्त्रण गरेको जाति हुनेछ । झैझगडा र मुद्दामामिलाबाट फाइदा नै हुनेछ । आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । शरीरमा स्फूर्ति र उमङ्ग नै देखिने छ, तर तुजुक देखाउने क्रियाकलापमा संयमता अपनाउनु पर्छ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । धैर्य र सहनशील बन्नुपर्छ, तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।