0 COMMENTS

वि.सं. २०७६ श्रावण २१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अगस्ट ०६ तारिख,परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतुआजको चाडपर्व र उत्सव : द्विपुष्कर योग बेलुका ०६ बजेर ४४ मिनेटदेखि भोलिबिहान ०४ बजेर १४ मिनेटसम्मश्रावण शुक्लपक्ष (गुँलाथ्व) षष्ठी तिथि, साँझ ०६:४४ बजेसम्म, त्यसपछि सप्तमी तिथि,हस्ता नक्षत्र, बिहान ०५:३२ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र,चन्द्रमा कन्या राशिमा, दिउँसो ०४:५१ बजेसम्म, त्यसपछि तुला राशिमा,साध्य योग, मध्यरात्रीपूर्व ११:४३ बजेसम्म, त्यसपछि शुभ योग,सुरुमा कौलव करण बिहान ०७:५० बजेसम्म, त्यसपछि तैतिल करण साँझ ०६:४४ बजेसम्म, अन्तिममा गर करण,आनन्दादि योग : सौम्य, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर,

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०३:२९ देखि ०५:०९ सम्म, यमघण्ट : बिहान ०८:४९ देखि १०:२९ सम्म, गुलिक काल : दिउँसो १२:०९ देखि ०१:४९ सम्म,काल वारवेला : दिउँसो ०१:४९ देखि ०३:२९ सम्म, रोग वारवेला : बिहान ०५:३२ देखि ०७:०९ सम्म र साँझ ०५:०९ देखि ०८:०९ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान १०:२९ देखि १२:०९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।, भोलिको चाडपर्व र उत्सव : गोस्वामी तुलसी दास जयन्ती, भोलिको मुहूर्त : अन्नप्राशन(पास्नी),पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । व्यवसायीहरूका लागि आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ भने युवायुवति र किशोरकिशोरी प्रतिस्पर्द्धात्मक क्रियाकलापमा सफल हुनेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्मबल बढ्ने समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बन्धुबान्धव र दाजुभाइका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया/प्रेमको वातावरण बन्नेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । ठूलाबडाले सहयोग गर्नेछन् । पाँचौं भावमा चन्द्रमाको उदय छ, खासगरी छात्रछात्रा र अध्येताका निमित्त गुरुजन, अभिभावक र साथीभाइबाट उपयोगी र आवश्यक सल्लाह र सरसहयोग प्राप्त हुनेछ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
चन्द्रमा अशुभ घरमा छ, त्यसैले तर्कवितर्क, झैझगडा र विवादका विषयमा अघि नबढेको राम्रो हुन्छ, यद्यपि अन्य ग्रहको शुभप्रभाव रहेकाले मान्यजन वा विशिष्ट व्यक्तिसँग सामीप्यता बढ्ने तथा उहाँहरूसँगको छलफलबाट लाभ हुने सम्भावना छ । दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ । घरायसी प्रयोजनको कुनै आवश्यक वस्तुको किनमेल हुनसक्छ । सायंकालमा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले आज तपाईंले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ । बन्दव्यापारमा सोचेको फाइदा हुने दिन छ । आम्दानीमा बढोत्तरी हुनेछ । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोलीवचनमा कडापन त्यागेको राम्रो हुन्छ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । साँझ कुनै घरायसी समस्या देखापर्न सक्छन्, तर मन विचलित बनाउनु हुँदैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आकस्मिक ढंगले कुनै सामाजिक कार्यमा खट्नु पर्ने समय छ, जसबाट यश पाइने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अपराह्नमा तपाईंको राशिमा रहेको चन्द्रमाले धनभावमा प्रवेश गर्दैछ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सुरुमा द्वादश भावमा चन्द्रमा भएकाले आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ तर साँझपख आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुनाले उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । अनावश्यक खर्च बढ्रने छ, नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । साँझपख विलासितातर्फ मन आकर्षित हुनेछ । कुनै दीर्घकालीन योजना कार्यान्वयन गर्नु छ भने रातीअबेर वा भोलिदेखि मात्र सहज हुने देखिन्छ । गृहिणीहरूको गहनागुरिया वा कस्मेटिक सामाग्रीमा आकर्षण बढ्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । आज लाभभावमा चन्द्रमाको उपस्थिति छ, मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । विद्यार्थीहरूले पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । अरु सबैले पनि इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । विश्वासको वातावरण बन्नेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सल्लाहले अड्किएको गाँठो फुकाल्ने समय छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार/व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । नयाँ व्यवसायको थालनी गर्ने मनसायमा हुनुहुन्छ भने योजना बनाएर दत्तचित्त हुनुहोस्, सफलता पाउनु हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज परोपकारी काममा खट्नु पर्ने दिन हो, धर्मभावमा चन्द्रमाको उपस्थिति छ, त्यसैले आज दान, पुण्यका कार्यमा आकर्षण बढाउनु उपयोगी हुनेछ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । तर्कवितर्क र प्रतिस्पर्धामा विजयी भइने छ । घरपरिवारमा सुमधुर वातावरण सिर्जना हुनेछ । साथीभाइले सकेको सहयोग गर्नेछन् । प्रेम र प्रणयप्रसङ्गका लागि पनि समय अनुकूल छ । सानो प्रयासले भाग्यबल बृद्धि गर्न सकिने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज आठौं भावमा रहेको चन्द्रमा भाग्यभावमा प्रवेश गर्ने दिन हो । दिनको सुरुवातमा चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । यद्यपि राशिमा परेको राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुनसक्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । तपाईंको कडा परिश्रमले बेलुकीसम्म राम्रो परिणाम दिन सक्छ । हातहतियारको प्रयोग गर्दा, बाटो काट्दा वा सवारीसाधनमा यात्रा गर्दा होस राखेको जाति हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सप्तम भावमा चन्द्रमाको उपस्थिति भएकाले मन रोमान्टिक र भावुक बन्नेछ । रमझम र मनोरञ्जनमा आकर्षण बढ्रन सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । तर साँझ अष्टम भावमा चन्द्रमाको प्रवेश हुने हुँदा दिन ढल्दै जाँदा जिम्मेबारीबोध बढ्दै जानेछ, रामरमाइलो त्यागेर व्यवसायिक गतिविधिमा संलग्न हुन मन लाग्नेछ । आम्दानीका दृष्टिले नराम्रो छैन, जे गरे पनि अपराह्नभित्रै गर्नु बेस हुनेछ, साँझ विलासिताका क्षेत्रमा खर्च बढ्न सक्छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।