0 COMMENTS

वि.सं. २०७६ श्रावण १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट ०२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, गुँलाधर्मारम्भ, श्रावण शुक्लपक्ष (गुँलाथ्व) प्रतिपदा तिथि, बिहान ०६:३७ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अश्लेषा नक्षत्र, दिउँसो ११:५९ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, दिउँसो ११:५९ बजेसम्म, त्यसपछि सिंह राशिमा, व्यतिपात योग, दिउँसो ०२:३२ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा बब करण बिहान ०६:३७ बजेसम्म, त्यसपछि बालब करण साँझ ०५:२५ बजेसम्म, अन्तिममा कौलव करण, आनन्दादि योग : मृत्यु, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : पूर्व, वारशूल : पश्चिम, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२७ बजे सूर्यास्त : साँझ ०६:५१ बजे, दिनमान : ३३ घडी ३१ पला (१३ घण्टा २४ मिनेट, रात्रीमान : २६ घडी २९ पला (१० घण्टा ३६ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२९ देखि १२:०९ सम्म, यमघण्ट : दिउँसो ०३:३० देखि ०५:११ सम्म, गुलिक काल : बिहान ०७:०८ देखि ०८:४८ सम्म, रोग वारवेला : दिउँसो ०१:५० देखि ०३:३० सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५० सम्म, अमृत वारवेला : बिहान ०८:४८ देखि १०:२९ सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
वराह जयन्ती, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका चौथो घरमा चन्द्रमा जाने भएकाले घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन । विद्यार्थी कल्पना र भावनामा रुमल्लिने दिन छ, सचेत हुनुपर्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छात्रछात्राले मौखिक अभिव्यक्तिका माध्यमबाट विशेष लाभ लिनसक्ने दिन छ । गृहिणीहरूको परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजबाट पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन् । पारिवारिक सहयोग बढ्ने छ । बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । किनमेल वा खरिद गर्नका निमित्त बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने समय छ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । यद्यपि आज मुख छुच्चो हुने दिन छ, जे बोले पनि तौलेर बोल्नु राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुरुमा बाह्रौं चन्द्रमा छ, दिउँसो तपाईंको आफ्नै घरमा चन्द्रमा आइपुग्छ, त्यसैले कुनै महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन, जोस र जाँगर बढ्ने दिन छ, तर आज हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला । विद्यार्थीले आजबाट पढाइमा ध्यानकेन्द्रित गर्नेछन्, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा राज्यस्थानमा रहेको चन्द्रमाका कारण पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन, खर्च गर्न मन हौसिने छ । धनलगानी गर्ने प्रसंगमा विना योजना कुनै पनि काम नगर्नु बुद्धिमानी हुनेछ, नत्र वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । रोकिएका सरकारी काम सुल्झाउन सकिन्छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । जागिरेले प्रशंसा पाउने दिन छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि शुभ सङ्केत मिल्नेछ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, त्यसैले सवारी हाँक्दा वा बाटो काट्दा होस राख्नुपर्छ, तर दिउँसो भाग्यभावमा चन्द्रमाको प्रवेश हुँदैछ, अब कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने समय छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । दिन छिप्पिंदै जाँदा भाग्यबल बढ्दै जाने समय छ । हाँके/ताकेका काममा सफलता मिल्दै जानेछ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुमा सातौं भावमा चन्द्रमा रहेकाले मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । यद्यपि घरपरिवार र साथीभाइले साथ दिनेछन् । व्यापार/व्यवसायमा खटेअनुसार लाभ पाउन सकिने छ । तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । पारिवारिक जीवनमा समेत सन्तुष्टि हुँदैन । व्यक्तिगत स्वास्थ्यमा पनि समस्या देखिन सक्छन् । घरायसी समस्या र कामधन्दामा केन्द्रित हुनुपर्छ । दिन अनुकूल नभए पनि वैदेशिक क्षेत्रबाट लाभ मिल्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । पारिवारिक खुसीका लागि खर्च बढ्ने छ । पतिपत्नी र प्रेमीप्रेमिकाका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
छात्रछात्राका लागि आजको दिन राम्रो छ । अन्य सबैका लागि समेत बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । छैंठौं भावमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । क्रोध र रिसरागमा नियन्त्रण राख्नु बुद्धिमानी हुनेछ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।