0 COMMENTS

वि.सं. २०७६ श्रावण १६ गते बिहीबार तदनुसार ई. सं. २०१९ अगस्ट ०१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, श्रावण कृष्णपक्ष (दिल्लागा) अमावस्या तिथि, बिहान ०८:५२ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पुष्य (तिष्य) नक्षत्र, दिउँसो ०१:२९ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, साँझ ०५:२५ बजेसम्म, त्यसपछि व्यतिपात योग, सुरुमा नाग करण बिहान ०८:५२ बजेसम्म, त्यसपछि किंस्तुघ्न करण साँझ ०७:४१ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : शुभ, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : ईशान, वारशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२७ बजे, सूर्यास्त : साँझ ०६:५२ बजे, दिनमान : ३३ घडी ३४ पला (१३ घण्टा २६ मिनेट, रात्रीमान : २६ घडी २६ पला (१० घण्टा ३४ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो ०१:५० देखि ०३:३१ सम्म, यमघण्ट : बिहान ०५:२७ देखि ०७:०७ सम्म, गुलिक काल : बिहान ०८:४८ देखि १०:२९ सम्म, काल वारवेला : दिउँसो ०३:३१ देखि ०५:११ सम्म, रोग वारवेला : बिहान ०७:०७ देखि ०८:४८ सम्म,

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : साँझ ०५:११ देखि ०८:११ सम्म, लाभ वारवेला : दिउँसो १२:०९ देखि ०१:५० सम्म, आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा आग्नेय (दक्षिणपूर्व) र नैऋत्य (दक्षिणपश्चिम) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
चन्द्रोदय, गुँलाधर्मारम्भ, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । सामाजिक कार्यकर्ताले विशेष सभा–समारोहमा सम्बोधन गर्ने मौका छ । तर आजको चन्द्रमा चतुर्थ भावमा रहेकाले गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक काम र परोपकारी कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिने राम्रो दिन छ । रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने समय छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ । धैर्य एवं लगनशीलताले फाइदा दिलाउनेछ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पुनः प्रारम्भ गर्न सकिने छ । परिवारजनका आकाङ्क्षा पनि पूरा गर्न सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन छ । विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनाले मन प्रसन्न रहनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिने छ । गृहिणीहरूले बाझोजुझोबाट टाढा बस्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर पनि काम बनाउन सकिने छ । आफ्नै राशिमा चन्द्रमा रहेकाले आज जेजस्तो भए पनि संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ । खुट्टा तान्ने र खिसीट्युरी गर्नेहरू चुप लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बाह्रौं भावमा चन्द्रमा भए पनि राशिस्वामी सूर्यसमेत साथमा रहेकाले खासै नराम्रो दिन छैन । खर्चबर्चमा नियन्त्रण गर्न सके अन्य पक्षमा अत्तालिई हाल्नु पर्ने परिस्थिति देखिंदैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई तोड्न सफल भइने छ । सुझबुझ र चिन्तनमननपछि गरेको क्रियाकलापको उचित प्रतिफल प्राप्त हुनेछ, तर हरदम होसियारीसाथ काम लिनुपर्ने समय छ । गरी आएको कामलाई निरन्तरता दिन सकिने छ । आस मारेको काम पनि आत्मबल र हिम्मतका साथमा गरेमा बन्नसक्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लाभभावमा रहेको चन्द्रमाको प्रभाव कमजोर रहेकाले घरगृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । यद्यपि आज सुझबुझ र लगनशीलता देखाएमा सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन्, प्रतिष्ठा कमाउने बेला छ । माताको सहयोग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सन्तान पक्षबाट सहयोग प्राप्त हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । पछाडि बसेर खुट्टा तान्न खोज्ने प्रतिस्पर्धी परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाग्यमा बलियो चन्द्रमाको उपस्थिति भएको राम्रो दिन छ, आज । हाँकेका र ताकेका काम सजिलै सम्पन्न हुनेछन् । प्रतिष्ठा कमाउने बेला छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । सबैले साथ दिनाले काम सजिलै सम्पादन हुने समय छ । राशिस्वामी नीच गृहमा रहेकाले हरेक काममा गोपनीयता अपनाएको जाति हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । ्व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । काममा अनावश्यक प्रतिस्पर्धा भए पनि सोचेको काम गर्न सकिने छ । आठौं भावमा चन्द्रमा छ, प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, चुनौती सामना गर्नुपर्ला तर डराउनु पर्दैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मबल र उत्साहमा बृद्धि हुने दिन छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तजनसँग आत्मीयता बढ्ने छ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । पतिपत्नी वा प्रेमीप्रेमिकाका बीचमा सामीप्यता बढ्ने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । कुनै पनि निर्णय गर्नुअघि मान्यजनको सुझाव र जान्नेबुझ्नेको राय ग्रहण गरेमा उपलब्धी हात पर्नेछ । तर हतारमा गरेको कामबाट घाटा हुन्छ । बौद्धिक क्षेत्रका व्यक्तिहरू र छात्रछात्राले पढाइमा त्यति समय दिन भ्याउँदैनन्, यद्यपि आज नयाँ ज्ञान सिक्ने मौका छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र सँगीसाथीको सहयोग र सद्भाव प्राप्त हुनाले नचिताएको काम बन्न सक्छ । आर्जित धनको दीर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने हौसला प्राप्त हुनेछ । सन्तति र भाइबहिनीले खुसी तुल्याउने छन् । छात्रछात्राका लागि स्वर्णिम समय छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।