0 COMMENTS

वि.सं. २०७६ श्रावण १५ गते बुधबार तदनुसार ई. सं. २०१९ जुलाई ३१ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : दर्श श्राद्ध, निशि बार्ने दिन, साउनको पन्ध्र (खिर खाने दिन), श्रावण कृष्णपक्ष (दिल्लागा) चतुर्दशी तिथि, दिउँसो १०:५४ बजेसम्म, त्यसपछि अमावस्या तिथि, पुनर्वसु नक्षत्र, दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा मिथुन राशिमा, बिहान ०९:०३ बजेसम्म, त्यसपछि कर्कट राशिमा, वज्र योग, साँझ ०८:११ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा शकुनि करण दिउँसो १०:५४ बजेसम्म, त्यसपछि चतुष्पाद करण बेलुका ०९:५३ बजेसम्म, अन्तिममा नाग करण, आनन्दादि योग : गद, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२६ बजे, सूर्यास्त : साँझ ०६:५३ बजे, दिनमान : ३३ घडी ३७ पला (१३ घण्टा २७ मिनेट, रात्रीमान : २६ घडी २३ पला (१० घण्टा ३३ मिनेट)

आजका लागि अशुभ समय :–
राहु काल : दिउँसो १२:०९ देखि ०१:५० सम्म, यमघण्ट : बिहान ०७:०७ देखि ०८:४८ सम्म, गुलिक काल : बिहान १०:२९ देखि १२:०९ सम्म, काल वारवेला : बिहान ०८:४८ देखि १०:२९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
लाभ वारवेला : बिहान ०५:२६ देखि ०७:०७ सम्म र साँझ ०५:१२ देखि ०८:१२ सम्म, आज पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा महिलाको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा मिठाइ वा तिल खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

भोलिको चाडपर्व र उत्सव :
स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, पञ्चाङ्गखण्ड समाप्त भएको छ, यहाँ मैले प्रयोग गरेको समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँअनुसार तिथि, नक्षत्रादि र नामाक्षरमा पनि समय अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजबाट चन्द्रमा चौथो घरमा जाने भए पनि दिन लाभदायक नै रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । विगतमा रोकिएका कामहरू पनि बन्न सक्छन् । तर अरुमाथि भर पर्नुहुँदैन, सानातिना कुरामा नअल्मलिनु होला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । छात्रछात्राले आमा वा दिदीको आशीर्वाद लिनसके उपलब्धी हासिल गर्ने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक/सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । आत्मीयजनहरूसँग भेटघाट हुनेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । छात्रछात्राले अभिभावक वा गुरुजन र अन्यले मान्यजनको सहयोगमा महत्त्वपूर्ण कार्य सम्पन्न गर्ने समय हो । यात्राबाट लाभ मिल्ने समय छ, परिश्रम गरेअनुसार हरेक काम निर्विघ्नताका साथ सम्पन्न हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आजबाट तपाईंको राशिबाट धनभावमा चन्द्रमा र राशिस्वामी बुधको प्रवेश हुँदैछ, दिउँसोबाट आम्दानी र लाभ हुने विषयमा ध्यानकेन्द्रित हुनसक्छ, दिन खासै नराम्रो नभएकाले जोस र जाँगरको संयमताका साथ प्रयोग गरी अघि बढ्नु उचित हुने छ । याद गर्नुहोला, गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ । आर्थिक पक्ष बलियो नभए पनि केही लाभमूलक काम बन्ने सम्भावना छ । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । अरुका काम र समस्यामा अलमलिनु पर्नेछ । कुटुम्बपक्षका क्रियाकलाप देखेर चित्त नबुझ्न सक्छ । बोलीको प्रतिकूल अर्थ लाग्न सक्ने भएकाले थोरै बोलेको जाति हुन्छ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज दिउँसो तपाईंको आफ्नै राशिमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिउँसो बाह्रौं भावमा चन्द्रमा जाने भएकाले दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । सुरुमा राज्यस्थानमा चन्द्रमा रहेकाले सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । भित्री ज्ञानको उदय हुनसक्छ र लक्ष्य र कर्मप्रति लगनशीलता बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । तर साँझपख चन्द्रमा प्रतिकूल रहने हुँदा गरेका काममा अवरोध आउने सम्भावना हुन्छ । दैनिक कामकाजको चाप बढ्न सक्छ । मनमा आवेग र क्रोध हाबी हुने समय छ, प्रतिशोधको भावना त्याग्नु राम्रो हुन्छ । घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुनसक्छ । श्रममूलक व्यवसायबाट लाभ प्राप्त हुनेछ । घुमघाम, परोपकार र दानपुण्यमा मन आकर्षित हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सुरुमा धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । कुलकुटुम्ब र बन्धुवान्धवबाट सुखद समाचारहरू प्राप्त हुनेछन् । देश/परदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । लामो दूरीको यात्राका क्रममा वा प्रशासनिक क्षेत्रका उल्झन सुल्झाउने राम्रो समय छ । छात्रछात्राले साख जोगाउन मिहिनेत गर्ने समय आएको छ, अन्यले रोजगारीका क्षेत्रबाट सम्मान पाउने छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बिहान भाग्यभावमा चन्द्रमा रहेकाले धर्म, दर्शन र अध्यात्मतर्फ मनको आकर्षण रहने छ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले हाकिम खुसी पार्ने समय हो, कुनै क्रियाकलापमा प्रशंसा पाउने समय छ। प्रायः सबैको घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दिनको सुरुमा आठौं भावमा चन्द्रमा भए पनि डराइहाल्नु पर्ने दिन छैन । एकाबिहानै सुखद समाचार सुन्न पाइने छ । गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । मानसम्मान र प्रशंसा प्राप्त हुनेछ । रोकिएका काम सुरु गने वातावरण बन्नेछ । आर्थिक पक्षमा टेवा पुग्नेछ । तर मध्याह्नसम्म रिस र आवेगमाथि नियन्त्रण गर्नु जाति हुनेछ, त्यस्तै सवारी चलाउँदा वा हातहतियारको प्रयोग गर्दा होस राख्नुपर्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
उदयकालको चन्द्रमा सातौं भावमा रहेकाले मनमा उत्साह र उमङ्ग नै देखिने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । हाँकेका र ताकेका काममा उपलब्धी प्राप्त हुनेछ । मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर छिट्टै सहमति जुट्ने छ । बन्दव्यापार र साझेदारीका काम अपराह्न पहिले नै राम्रो देखिन्छ । आज मनमा कुबुद्धि आउन दिनु हुँदैन, तुजुक देखाउने हुँदा ठूलो फन्दामा पर्न सकिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवसायमा अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन घोत्लिने सम्भावना पनि छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन पनि सक्छ, तर आजबाट मन रमणीयतातर्फ आकर्षित बन्नेछ । बरु भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ, त्यसैत्यसै मन भावुक र रोमान्टिक बन्न सक्ने समय हो । जीवनसाथी वा प्रेमी/प्रेमिकालाई समय दिनु राम्रो हुन्छ, नत्र दाम्पत्य सम्बन्ध वा प्रेमी/प्रेमिकाका बीचमा चिसोपन बढ्ने सङ्केत छ । बन्दव्यापार सामान्य नै रहने देखिन्छ । अरुले साथ देलान् भन्ने आशा त्यागी कर्मशील हुनु राम्रो हो । अनि कुनै काममा दुबिधा भएमा जीवनसाथी वा विपरीतलिंगी साथीको सहयोग लिएको जाति हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । त्यस्तै खानपान र आहारविहारमा ध्यान पुर्याउनु होला, मौसमी रोगको प्रकोप देखा पर्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज केही महत्वपूर्ण घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ, जसबाट भविष्यमा राम्रो फाइदा पुग्नेछ । उदयकालको चतुर्थ चन्द्रमाका कारण सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । गृहस्थीहरूमा छोराछोरीका क्रियाकलापबाट उमङ्ग र हर्षको सञ्चार हुनेछ । आत्मबल र निर्णय क्षमतामा बृद्धि हुने भएकाले आफैंलाई सन्तुष्टि प्राप्त हुनेछ । छात्रछात्राले पढाइलेखाइमा उच्च सफलता पाउने समय हो ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।