शास्त्रहरुमा जीवन पद्धतिका विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । जसलाई हामीले अनुशरण मात्र गर्यौं भने पनि हाम्रो दैनिक जीवन सरल र सहज बन्छ ।
चाणक्य नीतिका अनुसार हामीले साथी र संगत कस्तो बनाउने भन्ने कुरा पनि प्रष्ट रुपमा लेखिएको छ । सबैको जीवनमा साथीहरुको विशेष महत्त्व हुन्छ । हामीले को हाम्रो साथी हुने, को हाम्रो साथी नहुने भन्ने तय आफैले गरेका हुन्छौँ ।
चाणक्यले एउटा नीति यही विषयमा बनाएका छन् । यदी हामीले यो नीतिलाई ध्यान दिने हो भने पक्कै धेरै समस्याहरु समाधान गर्न सक्छौं । चाणक्य नीतिको दोस्रो अध्यायको पहिलो श्लोकमा लेखिएको छः
परोक्षे कार्यहन्तारं प्रत्यक्ष प्रियवादिनम्।
वर्जयेत्तादृशं मित्रं विषकुंभम् पयोमुखम्।।
यसको अर्थ हो, जो साथी हाम्रो अगाडि मीठो कुरा गर्छन् र हाम्रो पछाडि हाम्रैबारे गलत प्रचार गरिरहेका हुन्छन्, त्यस्ता साथीहरुलाई तत्काल छोड्नुपर्छ ।
यस्ता व्यक्तिहरुले हाम्रो अगाडि राम्रो कुरा वा प्रशंसा गरिरहेका हुन्छन् भने पछाडि अरु व्यक्तिहरुसँग हाम्रोबारे नै नराम्रो भनिरहेका हुन्छन् । यस्ता साथीहरुमा विष भरिएको हुने र त्यसले लामो समयसम्म नोक्सान पुग्ने चाणक्य शास्त्रमा उल्लेख छ ।
चाणक्य नीतिको दोस्रो अध्यायको छैटौँ श्लोकमा लेखिएको छः
न विश्वसेत् कुमित्रे च मित्रे चाऽपि न विश्वसेत्।
कदाचित् कुपितं मित्रं सर्वं गुह्यं प्रकाशयेत्।।
यसको अर्थ हो, हामीले कुमित्रप्रति कहिल्यै भरोसा गर्नु पनि हुँदैन । यतिमात्र होइन, कोही असल मित्र छ भने पनि उसमाथि हामीले पूर्ण रुपमा भरोसा मान्नुहुँदैन ।
भविष्यमा यस्ता साथीहरुसँग झगडा परेको खण्डमा आफ्नो सबै राज खोलिदिने भएकाले सचेत हुनु पर्ने चाणक्य नीतिमा लेखिएको छ।